दमक ,१३ भदौं । अर्ग्यानिक खानपान उपलव्ध गराउने हेतुले दमकमा आजदेखि रवि अर्ग्यानिक भान्सा घर सञ्चालनमा ल्याईएको छ ।
पाँचथरको रविबाट दमकमा आएर अर्ग्यानिक तरकारी व्यापार गर्दै आएका व्यवसायी कविन्द्र राई र कविता बान्तवा राई दम्पत्तीले दमकमा रवि अर्ग्यानिक भान्सा घर सञ्चालन ल्याएका हुन् ।
यसअघि सामान्य रुपमा सञ्चालन गर्दै आएको रबि अर्ग्यानिक भान्सा घरलाई थप व्यवस्थित र आकर्षक सजावटसहित सञ्चालनमा ल्याईएको व्यवसायी राई दम्पत्तीको भनाई छ ।
दमक वजारस्थित घिमिरे मार्केटको दोश्रो तलामा शुरु गरेको सो भान्सा घरको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ र होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दंगालले संयुक्त रुपमा रिविन काटेर उद्घाटन गरेका छन् ।
भान्सा घरको उदघाटनका क्रममा उनीहरुले अहिलेको आर्थिक मन्दीको प्रभावका बीच शुरु भएको यस किसिमको व्यवसायको प्रवद्र्धनात्मक जोड दिनु पर्ने औल्याए । उनीहरुले स्वस्थ्य र अर्ग्यानिक खानपानमा छुट्टै पहिचान दिन यस भान्सा घरले ध्यान दिन आग्रह गरेका गरे ।
उद्घाटन समारोहमा भान्सा घरकी सञ्चालिका राईले उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर अग्र्यानिक खाजा तथा अन्य खानेकुराहरु उपलब्ध गराउने गरि रवि अर्ग्यानिक भान्सा घर शुरु गरिएको बताइन् ।
सो भान्सा घरमा मकै, कोदो, आलु, स्कूस, हरियो चिया पत्ती लगायतका विभिन्न रैथाने कृषि उपजहरुबाट बनाइएका स्वस्थकर खानेकुराहरुलाई अर्ग्यानिक तवरबाट पकाएर बनाइएका विभिन्न परिकारका खानेकुराहरु उपलब्ध रहेका छन् ।
उदघाटनका अवसरमा होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले पनि शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रुवल अधिकारी, महिला उपाध्यक्ष सुष्मा निरौला, संघका कार्यसमिति सदस्य हेमसिंह अधिकारी लगायतको उपस्थिति थियो ।