एमालेको सिफारिश कार्यान्वयन नहुने, १४ सांसदको पद जोगियो


काठमाडौ१३ भदौ । नेकपा (एमाले ) ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ ।
निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी ) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय सभामुखले गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । “राजनीतिक दलसम्बन्धि ऐन तथा नयाँ दल दर्ता भइसकेको अवस्थामा कारबाही गर्नुनपर्ने निर्णय सभामुखबाट भएको हो”, उनले भनेका छन्।

यही भदौ १ गते नेकपा (एमाले )ले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । विसं २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लङ्घन गरेकाले उनीहरूलाई पार्टी र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

सभामुखको आजको निर्णयसँगै नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।

Leave a Reply

Your email address will not be published.