दमक, १२ भदौं । दमक नगरपालिका वडा नम्बर ४ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरण गर्ने उद्देश्यले धनिपुर्जाको निस्सा वितरण गरिएको छ ।
स्थानिय दाहाल प्रतिष्ठानको सभाहलमा आइतवार एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा वडा भित्र रहेका भूमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गरेका हुन् ।
दमक ४ का वडा अध्यक्ष पुण्य दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले नगर भित्र कोही पनि नागरिक भूमिहीन नबन्ने बताए । भूमिहिनलाई जग्गाको मालिक बनाउन स्थानीय सरकारले उच्च प्राथमिकता दिएको बताउदै उनले धनिपुर्जा उपलब्ध गराउने काममा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनिपुर्जा समेत उपलब्ध गराईने बताए ।
त्यसैगरी नगर उप प्रमुख भट्टराईले भूमिहिनको समस्यालाई सधैका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताईन् । प्राबिधिक कामले केहि ढिलाई भए पनि आगामी संघिय निर्वाचन अघिनै धनिपुर्जा उपलब्ध गराउने गरी आफुहरुले काम गरिरहेको उनले बताए ।
कार्यक्रममा र राष्ट्रिय भूमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ, नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं, दमक ४ का पूर्व वडाअध्यक्ष कुमार साम्सोहाङले आयोगको काम अघि बढाउन सक्दो सहयोग गर्ने बताए ।
वडा भित्र हालसम्म दर्ता रहेका ४५० भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको वडा सचिव अस्मिता खनालले जानकारी दिइन् । आयोगसहित नगरपालिकाले यसअघि दमक १० का भूमिहीनहरुलाई पनि धनीपुर्जाको निस्सा वितरण गरेको थियो ।.