
दमक,१२ भदौ । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको ८ औं नगर सम्मेलन आयोजक कमिटी बनेको छ । संघका नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षता र नेकपा एमालेका प्रदेश कमिटी सदस्य होम बहादुर थापाको प्रमुख आतिथ्यमा आज शनिबार पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले डेन्जोङ लामाको संयोजकत्वमा ६८ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
यस अघि पौडेलको अध्यक्षमा २०७२ जेठमा युवा संघ दमक नगर कमिटी क्रियाशील थियो ।
पार्टीले सञ्चालन गरिरहेको संगठन सुदृढिकरण अभियान अन्तर्गत युवा संघको ८ औं नगर सम्मेलन तीन महिना भित्र सम्पन्न गर्ने म्याण्डेट सो सम्मेलन आयोजक कमिटीलाई दिइएको छ । लामाको संयोजकत्वमा रहेको आयोजक कमिटीको उपाध्यक्षमा खेम सापकोटा, सचिवमा विवेक शर्मा भट्टराई , सहसचिवमा राजन श्रेष्ठ र कोषाध्यक्षमा ख्यामकुमारी परियार ( सरु ) रहेका छन ।
विस्तारित बैठकमा दमक नगर उपप्रमुख गीता अधिकारीले स्थानीय तहबाट भए गरेका महत्वपूर्ण कामहरुका साथै भावी योजनाहरुका बिषयमा समेत जानकारी गराउँदै शुभकामना दिएकी थिइन । त्यस्तै नेकपा एमाले नेतृ तथा अनेमसंघ जिल्ला सचिव लिला ढुंगेल दाहालले पार्टीले सञ्चालन गरिरहेको अभियानका साथै युवाहरुको भुमिकाका बिषयमा चर्चा गर्दै शुभकामना दिएकी थिइन ।
साहसिक युवा सम्मान प्रदान
यसैबीच सो अवसरमा युवा संघको विगठित नेतृत्वले कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका तीन जना स्काउटर युवालाई साहसिक युवा सम्मान पुरस्कार प्रदान गरेको छ । स्काउटरहरु किरण बुढाथोकी, विमल विक र सविन लिम्बुलाई साहसिक युवा सम्मान स्वरुप जनही नगद २ हजारका दरले पुरस्कार र सम्मान प्रदान गरिएको युवा संघ नगर सम्मेलन आयोजक कमिटी सदस्य कविता पौडेल अधिकारीले जानकारी दिइन ।