कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत

झापा,११ भदौ । नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो।

निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए। ‘३८ जिल्लामा निर्वाचन अधिकृत तोकिइसकेको छ, उहाँहरू अब जिल्लामा जानुहुन्छ,’ उनले भने, ‘बाँकी जिल्लामा पनि हामी एकरदुई दिनमा निर्वाचन अधिकृत खटाउँछौं।’

कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ।

यादवका अनुसार ३८ जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गरिएको छ। पार्टीको वेबसाइटमा गएर सार्वजनिक भएका नामावली हेर्न सकिने उनले बताए। क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएका जिल्लामा निर्वाचन अधिकृत खटाइएका हुन्। अब बाँकी ३९ जिल्लाको क्रियाशील सूची पनि छिट्टै सार्वजनिक गरिने उनले बताएका छन्।

कांग्रेसले प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर र झापा लगायतको क्रियाशील सूची प्रकाशित गरेको छ।

यस्तै बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरलगायत जिल्लाको क्रियाशील विवरण वेबसाइटमा राखिएको छ। गण्डकी प्रदेशका गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र नवलपुरलगायतको क्रियाशील सार्वजनिक भएको छ।

लुम्बिनीमा रूपन्देही, पाल्पा र रोल्पालगायतको विवरण सार्वजनिक गरिएको छ भने कर्णालीमा हुम्लाको मात्रै क्रियाशील विवरण वेबसाइटमा राखिएको छ। प्रदेश नम्बर २ र ७ मा भने कुनै पनि जिल्लाको क्रियाशील विवरण अहिलेसम्म सार्वजनिक गरिएका छैनन्।

कांग्रेसले १४ औं महाधिवेशनका लागि यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य बनाएको छ जसमध्ये करिब ५० हजार विदेशस्थित जनसम्पर्क समितिका छन्। कांग्रेसले क्रियाशील विवरण सार्वजनिक थालेको र निर्वाचन अधिकृत पनि खटाएकोले अब भदौ १८ मा वडा अधिवेशन गर्ने गरी तयारी अगाडि बढेको छ।

कांग्रेसका जिल्ला सभापतिहरू र युवा नेताले क्रियाशील विवरण सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा गत बुधबारदेखि रिले अनसन गर्दै आएका थिए।

क्रियाशील विवाद भएका वडामा भने १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने सहमति नेताहरूबीच भइसकेको छ।

एक सय देखि ३० हजारसम्म उम्मेदवार शुल्क

कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ।

कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ।

यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीको उम्मेदवार बन्नका लागि २५ हजार र सहमहामन्त्रीका लागि २० हजार रुपैँया शुल्क तिर्नु पर्नेछ। केन्द्रीय सदस्य पदको निर्वाचनमा भाग लिन १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपैयाँ शुल्क लाग्ने निर्वाचन निर्देशिकामा उल्लेख छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तोकिएको छ भने जिल्ला कार्यसमितिको सभापतिको उम्मेदवार बन्न १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क तोकिएको छ।

वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रुपैयाँ शुल्क तोकिएको हो।

गाउँपालिका कार्यसमितिका लागि सभापति निर्वाचनमा भाग लिनेले दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क लाग्नेछ।

नगर सभापतिको उम्मेदवार हुन चार हजार, उपसभापति र सचिवका लागि तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यका लागि एक हजार शुल्क तोकिएको छ। यस्तै महानगरपालिका र उपमहानगर भित्रका सभापति पदको निर्वाचनका लागि पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार र सदस्यलाई दुई हजार शुल्क तोकिएको छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्ने भएको छ।

Leave a Reply

Your email address will not be published.