उच्च अदालत विराटनगरद्धारा २१०८ मुद्दा फछयौंट

विराटनगर ,११ भदौ । उच्च अदालत विराटनगरले एक वर्षको अवधिमा दुई हजार एक सय आठवटा मुद्दा फछयौंट गरेको छ । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा तीन हजार एक सय ८१ वटा मुद्दा फछयौटको लक्ष्य लिइएको थियो । समग्रमा ५८ प्रतिशत मुद्दा फछयौंट भएको उनले बताए । उक्त आर्थिक वर्षमा तीन हजार छ सय ६१ मुद्दा दर्ता भएका थिए ।
दुई हजार एक सय आठवटा मुद्दा फछयौंट हुँदा एक हजार पाँच सय ५३ वटा बाँकी छन् ।

अघिल्लो आर्थिक वर्षबाट एक हजार छ सय ७० वटा मुद्दाको जिम्मेवारी सरेर आएको थियो । ६ महिना भित्रका छ सय ७४, ६ महिनादेखि १ वर्षभित्रका चार सय ६०, १ वर्षदेखि १८ महिनाभित्रका चार सय ७१ वटा र १८ महिनादेखि २ वर्षभित्रका तीन सय सतवटा मुद्दा फछयौंट भएको मुख्य न्यायाधीश श्रेष्ठले बताए ।
कोरोना महामारीका कारण चार महिनाजति सुनुवाइ प्रभावित हुँदा लक्ष्यअनुसार मुद्दा फछयौंट हुन नसकेको हो । यद्यपि मुलुकभरका अरु उच्च अदालतमध्ये मुद्दा फछयौंट गर्नेमा उच्च अदालत विराटनगरअगाडि रहेको छ । विभिन्न उच्च अदालतमध्ये पाटनले ४५, जनकपुरले ४४, वीरगञ्जले ४६, बुटवलले ५०, नेपालगञ्जले ५० र पोखराले ५३ प्रतिशत मुद्दा फछयौंट गरेका छन् ।
सबैभन्दा बढी उच्च अदालत विराटनगरले ५८ प्रतिशत मुद्दा फछयौंट गरेको हो ।
मुलुकभरबाट सबैभन्दा बढी मुद्दा फछयौंट गर्ने न्यायाधीश पनि उच्च अदालत विराटनगरकै छन् । सर्वोच्च अदालतको अभिलेख अनुसार देशभरका उच्च अदालतका न्यायाधीशमध्ये मुख्य न्यायाधीश श्रेष्ठको इजलासले सबैभन्दा बढी मुद्दा फछयौंट गरेको छ । श्रेष्ठको इजलासले १ वर्षको अवधिमा सात सय तीनवटा मुद्दा फछयौंट गरेको हो । सबैभन्दा धेरै मुद्दा फछयौंट गर्दा न्याय सम्पादनमा मुख्य न्यायाधीश श्रेष्ठ अब्बल ठहरिएका छन् ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार उच्चले दुई वर्ष नाघेका एउटा पनि मुद्दा बाँकी राखेको छैन । दर्ता भएको दुई वर्षभित्रका सम्पूर्ण मुद्दा फछयौंट गरिसक्ने नीति उच्चको रहेको उनले बताए ।
‘दुई वर्षे मुद्दा शून्यमा झारेर ऐतिहासिक रेकर्ड कायम गर्न सक्यौं । एक वर्षभित्रमा मुद्दा फछयौंट अहिलेसम्मकै धेरै भएको छ,’ मुख्य न्यायाधीश श्रेष्ठले भने , ‘उच्च अदालत विराटनगरमा यसअघि यति धेरै मुद्दाको फछयौंट भएकै थिएन । योजनावद्ध ढङ्गले छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन पहिलो प्राथमिकतामा छ ।’

Leave a Reply

Your email address will not be published.