दमक ,७ भदौ । दमकमा सञ्चालित लाइफलाइन अस्पतालका सञ्चालकहरुवीच बढेको आन्तरिक कलहको मुद्या अहिले नगरपालिकासम्म पुगेको छ ।भवन निर्माण लगायतका कतिपय सार्वजनिक सरोकारका विषयमा सञ्चालकहरुवीच कलह बढेपछि एउटा असन्तुष्ट समूहले त्यस विषयमा सत्यतथ्य छानवीनको माग गदैं स्थानीय सरकारसंग हारगुहार गर्न पुगेका छन् ।
स्रोतका अनुसार अस्पतालले स्थानीय सरकारबाट स्वीकृति नलिई धमाधम थप संरचनाहरु निर्माण गरिरहेको र त्यसमा केहि सञ्चालकले त्यस कार्यमा असहमति जनाउदै आएका र त्यसबारे अस्पताल अध्यक्ष लगायतबाट चित्तबुझदो जवाफ नपाएपछि उनीहरु सो विषयमा छानवीन गर्न आफनै सञ्चालक विरुद्ध उजुरी गर्न बाँध्य भएका हुन् ।
अस्पतालमा सञ्चालित विभिन्न विधाका प्राविधिक बिषयहरुको अध्यापन गराउने प्रयोजनका लागि भवन मापदण्ड तथा दमक नगरपालिकाले तोकेका न्यूनतम शर्तहरुको उल्लंघन गर्दै निर्माण कार्य जारी राखेको पाईएको हो ।
ति संरचनाहरुको निर्माण कार्य रोकेर प्रकृयामा आउन पटक पटक गरेको पत्राचारलाई समेत वेवास्ता गर्दै आफूखुशी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ । दमकका जनप्रतिनिधि, चिकित्सक, सामाजिक , राजनीतिक रुपमा नाम कहलिएका उद्योगी व्यवसायीहरु समेत ३३ जनाको लगानी रहेको सो अस्पतालका सिमित पदाधिकारीहरुले राज्यद्धारा निर्देशित ऐन, कानुन भवन निर्माणको प्रकृया अघि बढाउँदा लाइफलाइन अस्पताल प्रालिले खरिद ऐनले न्यूनतम शर्तहरु समेत पालना नगरेको भन्दै अस्पतालका सञ्चालकहरुलेनै आपत्ती जनाउँदै आएका छन् ।
सो बिषयसहित अस्पतालमा आर्थिक अनियमितता गरी लगानीकर्ताहरुको लगानी असुरक्षित बनाएको भन्दै प्रालिका अध्यक्ष डा. मुक्तिनाथ भट्टराई, सञ्चालक राजकुमार भट्टराई, कम्पनी सचिव लगायतका विरुद्ध ११ जना शेयर सदस्यहरुले दमक नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेको बताइएको छ ।
न्यायिक समितिले यस प्रकरणमा छलफल समेत शुरु गरेको बुझिएको छ । बुधबार न्यायिक समितिको कार्यकक्षमा दुवै पक्षलाई बोलाएर छलफल गरिएको थियो । छलफलमा उजुरीकर्ताहरु सञ्चालकहरु विक्रम साह, डा.सुर्यनारायण साह, डा. भीम सुब्बा लगायतले अस्पताल भित्रको वेथिती विरुद्ध न्यायिक समितिसम्म आउनु पर्ने आफूहरु बाँध्य हुनुपरेको बताएका थिए ।
उजुरीपछि दुई पक्षबीच संवादको प्रयास भएपनि उजुरीकर्ताहरुले राखेको आर्थिक कारोबारको छानबिन गर्न तथा समस्या विशेष समिति गठन गर्नु पर्ने मुख्य मागमा अध्यक्षसहित कतिपय सञ्चालकहरु सहमत नभएको बताइएको छ ।
यसैवीच अध्यक्ष भट्टराईले यो बिषय अस्पताल सञ्चालकहरुवीचको आन्तरिक विषय भएकाले बाहिर लान जरुरी नभएको बताएका छन् । यो मामिला अस्पताल सञ्चालकहरु बसेर समाधान गर्ने उनको भनाई थियो ।