मकैबारीमा भेटियो कविताको शव

बेलबारी , ७ भदौ । मकै बारीमा लडिरहेको अवस्थामा आइतबारसाँझ मोरङको बेलबारीमा एक जना महिलाको शव फेला परेको छ । मोरङको बेलबारी नगरपालिका–११ जुरेकी ५८ वर्षीया कविता बुढाथोकी घर नजिकको मकैबारीमा मृत फेला परेकी हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार परिवारका सदस्यबाट अलग भएर उनी घरमा एक्लै बस्दै आएको खुलेको छ ।
मकैबारीमा महिलालाई मृत फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको श्रेष्ठले बताए । मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी उनले दिए ।
त्यस्तै केराबारीमा आफ्नै घरको शौचालयमा लडेर आइतबारसाँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ याङ्शिलाकी २६ वर्षीया टीकामाया राई (लिम्बू ) रहेकी छन् । शौचालयमा लडेर घाइते भएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा टीकामायाको मृत्यु भएको जानकारी डीएसपी श्रेष्ठले दिए । अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि धरान लगिँदै थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.