
झापा,७ भदौ । बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । १ नं प्रदेश विभागका रजिष्टार बलराम निरौलाको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच आज बिर्तामोडमा औपचारिक रुपमा सपथग्रहणसहित पद हस्तान्तरण सम्पन्न भएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघको सम्पन्न साधारणसभाले दमकका सहकारी अगुवा तुलाराम न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको थियो । उनी दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।
नवगठित सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद ओली, उपाध्यक्षद्धयमा विशेश्वरप्रसाद भट्टराई, चन्द्रकुमारी खड्का भट्टराई, सचिवमा यामकुमार चुडाल, सहसचिवमा कमलकुमार घिमिरे र कोषाध्यक्षमा गोविन्दप्रसाद पौडेल चयन भएका थिए ।
यस्तै समितिको सदस्यमा सुशीला रिजाल, हिमालयप्रकाश कन्दङ्वा, देविका निरौला बस्नेत, दिपक शिवाकोटी, गोकुल न्यौपाने, बालाकृष्ण गौतम, विनोद ढकाल र कृष्णप्रसाद पोखरेल चयन भएका थिए ।समितिको कार्यकाल ४ वर्ष रहने जनाइएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा रेवती खनाल र सदस्यमा राजेन्द्र रिजाल तथा त्रिलोचन गौतम चयन भएका थिए । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि निरौलाले प्रमाणपत्र प्रदान गरेका थिए ।
बचत तथा ऋण सहकारी संघ लिमिटेडका निवर्तमान अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी संघका सचिव भानु दंगाल, निर्वाचन अधिकृत डिल्ली दाहाल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।