युट्युब आतंकः थप तीन जना अझै पक्राउ परेनन्

बिर्तामोड , ६ भदौ । तीनदिन अघि जिल्लाको बिर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको एक होटलमा युट्युब आतंक गर्ने अरु तीनजना अझै पक्राउ परेका छैनन् ।
भिडियो खिच्ने क्यामेरामेन भाष्कर श्रेष्ठ , टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेललाई प्रहरीले पक्राउ गर्न नसकेको हो । यसअघि शुक्रबार तीन जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे रहेका छन् । घटनामा संलग्न अरुहरुको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए । ‘अरुहरुको पनि खोजी भइरहेको छ’ उनले भने,‘फेला परेपछि पक्राउ गरी कार्वाही अगाडि बढाउँछौं ।’

पीडितहरुको उजुरीपछि मुद्धा दायर गरिएको र अनुमति लिएर आरोपितहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । अभद्र व्यवहार गरेको आरोपमा उनीहरुमाथि मुद्धा दायर गरिएको छ ।
युट्युवको भिडियो टिकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल बिर्तामोड निवासी हुन् । कल्पना थापा बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा बोलाएर छोडिएको बताइएको छ । क्यामेरामेन श्रेष्ठ भने फरार रहेको प्रहरी जनाएको छ । मेची आँखा अस्पताल अगाडिको एक होटलमा मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युट्युबरले आतंक गरेका थिए । चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी चिनेको मानिससँग खाजा खाइरहेको आग्रह गरेपनि दादागिरी शैलीमा ती युट्युबरले भिडियो खिचेर युट्युबमा हालेका थिए । आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित दुई महिला र ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.