दमक,५ भदौं । मुलुककै सुगम जिल्लाको परिचय भएको झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा इमर्जेन्सी सेवा, प्रसुति सेवा, प्रयोगशाला र अल्ट्रासाउन्ड सेवा लगायतका आधारभूत सुविधा उपलब्ध छन् ।
प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी हस्पिटलसम्म रहेको जिल्लामा १५ शैयाभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवा समेत उपलब्ध छ ।
मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए ।
दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा रहेका छन् ।
कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।
पुरानो जिल्ला सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल रहेको छ भने विर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल रहेका छन् । बीएन्डसी अस्पतालले मेडिकल कलेज सञ्चालनको अनुमति पाए पनि अझसम्म कलेज सञ्चालनमा आएको छैन् ।