काठमाडौं ,५ भदौ। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको जानकारी दिए ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।
कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते ) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते)मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व मानिन्थ्ये । उनको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।