इलाम,४ भदौं । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको गत आइतबार निधन भएको हो। दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको आइतबार निधन भएको खबर आफूहरूलाई आएको उनका फुपाजु होम श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, हृदयघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको छ। यद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन। इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालका अनुसार सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टमको रिपोर्ट भने अस्पतालले दूतावासलाई दिइसकेको छैन। उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि खनालले जानकारी दिए।
‘शव नेपाल पठाउने प्रक्रिया पूरा हुँदैछ,’ खनालले भने, ‘खर्च महंगो लाग्ने बुझेका छौँ। कम्तीमा १२ लाख खर्च लाग्ने भएपछि हामी त्यसैको प्रबन्ध मिलाउँदैछौँ।’ परिवारका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्। माई नगरपालिका–१ का अध्यक्ष राम बहादुर राईले सोमबार कार्यालय बन्द भएको र ढिला खबर पाएकाले मंगलबार बिहानैबाट शव ल्याउनका लागि परिवारसँग समन्वय गरिने जानकारी दिए।
उनका बुवा लिला कुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। मलेसियामा रहेका लिला कुमारको पनि गत जेठमा निधन भएको थियो। उनको बुवाको पनि तीन महिनाअघिमात्रै मलेसियामा निधन भएपछि शव नेपाल ल्याएर अन्तिम दाहसंस्कार गरिएको श्रेष्ठले बताए ।
सोनुका परिवारमा अन्य तीन सदस्य छन् आमा, भाइ र बैनी। एउटी दिदीको भने बिहे भइसकेको छ। ४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन्। सोनुका भाइ कक्षा ७ मा र बैनी कक्षा १२ मा अध्यनरत छिन् ।