दमक,४ भदौं । श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा करिब एक हजार बढी मानिसहरु सहभागी भएका अनुमान गरिएको छ ।
रथयात्रामा सहभागीहरुलाई दमकको भृकुटी चोकमा भेला भएका स्थानीय जाल्पादेवी किर्तनमण्डली परिवारले भव्य स्वागत गर्दै श्रीकृष्णको आरतीमा सहभागिता जनाएको थियो । सर्वसाधारणले पुष्पबृष्टी गराएर रथयात्रालाई स्वागत गरेको रथयात्रा आयोजक समितिका संयोजक रोहित आचार्यले बताएका छन् ।
भगवान श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेर विजयी हासिल गरेकाले कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिन्छ । सर्वसाधारणहरु ठुलो संख्यामा आफनो नियमित कामकाज छोडेर यो यात्रामा सहभागी हुने गर्छन । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।
पूर्वी नेपालका झापा र मोरगंमा भारतको विहार र पश्चिम बंगालबाट पनि रथको अवलोकन गर्न आउने गरेका छन् । दमकमा श्रीकृष्ण रथयात्रा समितिको आयोजनामा बर्षेनी हुँदै आएको रथयात्रालाई यसपटक पनि निरन्तरता दिइएको हो ।
रथयात्रामा दमकका धार्मिक तथा सामाजिक संघ संस्थाहरु, मैथिली तथा मारवाडी समुदायको विशेष सक्रियता रहँदै आएको छ । रथयात्राले विभिन्न जाती समुदायलाई एकताको शुत्रमा बाँधेको देख्न सकिन्छ । दमकमा मारवाडी सेवा समिति, श्याम परिवार, दमक युथ क्लब, राधाकृष्ण मन्दिर, स्काउट, राधाकृष्ण किर्तन मण्डली, जाल्पादेवी किर्तन मण्डली, रोटरी क्लब अफ दमक, लायन्स क्लबहरु लगायतले रथयात्रामा सहभागी भक्तजनहरुको स्वागतका लागि चोक बजारका सडकहरु रंगाएका छन । यसैगरी विराटनगरमा प्रदेश एकमै सबैभन्दा धेरै भक्तजनहरुको सहभागितामा रथयात्रा निकालिएको छ भने गौरादह, उर्लाबारी लगायतका ठाउँमा पनि ठुलो संख्यामा भक्तजनहरु रथयात्रामा सहभागी भएका छन ।