विराटनगर ,२ भदौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।उनी यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
नाट्टाको निवर्तमान अध्यक्षमा उदय श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी चुनिए भने सदस्यहरूमा मोहन सेलवाल, धर्म सिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का निर्विरोध चुनिए ।
नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने बताए । आर्थिक मन्दीको कारणले ट्राभल व्यवसाय धरासायी बन्दै गएको बताउँदै नवनिर्वाचित अध्यक्ष भट्टराईले राज्यले धरौटी लिने एक लाख रुपैयाँ हटाउनुपर्नेमा जोड दिए ।नाटाको साधरण सभा र अधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे ।
साधरणसभामा नाटा केन्द्रीय अध्यक्ष रमेश थापा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिब सन्जय कुमार राई, नाट्टाका गण्डकी, मधेश प्रदेशका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।