दमक, २ भदौ । दमक नगरपालिकाले बनाउन सुरु गरेको ‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम सुरु हुन नपाउँदै विवाद भएको छ । दमक ७ मा सुनचाँदी लाइनमा करिव ४३ करोडभन्दा बढीको लागतमा निर्माण शुरु गरिने कम्प्लेक्सको काम शुरु गर्न लाग्दा विवादमा आएको हो ।
निर्माण ब्यवसायीले कम्प्लेक्स निर्माणका लागि भन्दै ६ महीना अघिनै अग्रीम रुपमा १ करोड ९० लाख ४ हजार ४१० रुपियाँ रकम लगेको सार्वजनिक भएको थियो । यो सार्वजनिक भएपछि निर्माणको काम सुरु गर्न दबाबमा पुगेको दमक नगरपालिका र निर्माण ब्यवसायीले साउनको पहिलो साता काम सुरु गर्न खोजे पनि बर्षौदेखि आफ्नो जग्गा भएको दाबी गर्दै आएका पदमबहादुर माझीले उच्च अदालत बिराटनगर, इलाम ईजालसमा जग्गा खिचोला चलन मुद्दा लगाएका थिए ।
उक्त मुद्दामा गत साउन १७ गते न्यायाधीश गीताप्रसाद तिम्सिना र सोमकान्त मैनालीको संयुक्त इजालसले अन्तर्कालीन आदेश जारीगरी भौतिक संरचना निर्माण कार्य रोक्का गर्न आदेश दिएको थियो । नगरपालिकाले जग्गा खिचोला मेटाइ चलन चलाइ पाउँ भनि अन्तरकालीन आदेश बदर गर्न माग गरेपछि अन्तर्कालीन आदेश बदर हुने वा नहुने भन्ने सम्बन्धमा बिपक्षीलाई समेत झिकाइ छलफल गर्न मनासिव देखिनेभन्दै साउन १० गते अर्को फैसला गरेको छ ।
दमक नगरपालिकाको कानून शाखाका अनुसार अनावश्यक रुपमा किचलो झिकेर काम रोक्न खोजिएको भए पनि अदालतको आदेशअनुसार अहिले काम रोकिएको छ । दुबै पक्षलाई भदौ १० गते अदालतले बोलाएको छ । अगाडि पनि धेरै नै मुद्दा मामिला भए पनि नगरपालिकाको पक्षमा फैसला आएको छ ।
दमक नगरपालिकाको नाममा रहेको यस जग्गाका सुकुम्बासीलाई हटाएर सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने महत्वकाक्षी योजना एक दशक अघिदेखि नै अघि सार्दैआएको थियो । नगरपालिकाले यहाँ रहेका सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई ब्यवस्थापन गरेर योजना अघि सारेको दमक नगरपालिका पूर्वाधार समितिका संयोजक एवं वडा ७ का वडाध्यक्ष भीम पौड्यालले बताए ।
निर्माणको काम नवसृजना–बंगलामुखी जे.भी.कन्स्ट्रक्सनले जिम्मा पाएको छ । नगर विकास कोष र दमक नगरपालिकाबीच अत्याधुनिक ‘दमक सपिङ्ग कम्प्लेक्स’ बनाउने समझदारीअनुसार काम शुरु भएको थियो । निर्माण ब्यवसायीले पुस २५ गते सपिङ्ग कम्प्लेक्स निर्माणका लागि पेश्की लिएर काम अघि नबढाएपछि नगरसभामा आलोचना भए पश्चात निर्माणका लागि घेरबार सुरु हुनासाथ काम रोकिएको छ ।