ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार पत्नीको मृत्यु, पति घाइते

दमक ,३ भदौं । दमक–७ स्थित पशुहाटको डाँडा सडकखण्डमा आज मंगलबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका–५ सितापुरीकी ४२ वर्षीया मुना गौतम रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ उनको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्। उनको बाँया खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालीगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.