दमक,१ भदौं । झापाको दमक नगरपालिका वार्ड नम्बर ७ ले क्युआर कोडमार्फत सेवाग्राहीहरुको गुनासो सुनुवाइ गर्ने ब्यवस्था मिलाएको छ । वार्ड नम्बर ७ को वडा कार्यालयले क्यु आर कोड सार्वजनिक गर्दै सो क्यू आर स्क्यान गरेर आफ्नो मोबाइलबाटै क्यू आर मार्फतनै उजुरी तथा गुनासो लिने ब्यवस्था मिलाएको हो । वडा अध्यक्ष भिम प्रसाद पौडेलले त्यस किसिमको क्यूआर स्क्यान गरेर उजुरी तथा गुनासो कर्ता वडाबासीले आफ्नो परिचय सहित के कुन विषयको गुनासो हो ? सो बारे उल्लेख गर्दै आफ्नो समस्या राख्न सक्ने जानकारी दिए । प्रबिधिको सदुपयोग गर्दै सेवाग्राहीहरुले जुनसुकै ठाउँबाट पनि आफ्नो गुनासो वा समस्या कार्यालयमा अनलाइनबाटै दर्ता गरिने वडा सचिब योगेश भट्टराईले बताए ।
दमक नगरपालिकामै पहिलो पटक ७ नम्बर वडाले यस खाले सेवा शुरु गरेको नगरपालिकाको कार्यवाहक नगर प्रमुख समेत रहेका सो वडाका वडाध्यक्ष पौडेलले बताए ।
दमक नगरपालिकाका सूचना प्रबिधि शाखा प्रमुख समीप चुडालले यो प्रबिधिको सदुपयोग गर्दै छिट्टै नगरपालिका कार्यालयले समेत यस किसिमको सेवा सुचारु गर्ने तयारी रहेको जानकारी दिए।