पत्रकार कन्दङ्वाको निधन

झापा ,३०साउन । पत्रकारितामा आदिबासी जनजातिको मुद्धा उठान गर्ने अगुवा पत्रकार केपी कन्दङ्वाको निधन भएको छ ।
तेह्रथुमको आठराईस्थित निजी निवासमा ७३ वर्षको उमेरमा मंगलवार उनको निधन भएको हो ।
वि.सं २००८ फागुन २० गते तेह्रथुममा जन्मिएका उनले २०४० सालदेखि पूर्वका विभिन्न स्थानमा रहेर करिव चार दशक पत्रकारिता गरिआएका थिए ।
झापास्थित यलम्बर टाइम्सका सम्पादक दिपीन राईका अनुसार पत्रकार कन्दङ्वा पत्रकार मात्र नभएर साहित्यकार समेत थिए । उनका कथा र कविता प्रकाशित छन् । ‘पञ्चायतकालमा उहाँलाई विद्रोही कविको रुपमा चिनिन्थ्यो,’ राईले भने–‘पहिचानको मुद्धामा कलम चलाउने एउटा योद्धा हुनुहुन्थ्यो । उहाँको अभाव अब खट्किनेछ ।’
उनले २०४७ सालदेखि जनचाहना साप्ताहिकको सम्पादन गरेका थिए भने त्यसपछि मुक्ति आवाज, ब्लास्ट दैनिक, विवेचना दैनिक, पूर्वाञ्चल दैनिक, पूर्वेली खबर साप्ताहिक लगायतका पत्रपत्रिकामा आवद्ध भएर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published.