दमक ,२७ साउन । दमक नगरपालिकाले दमक भित्रका ११४ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगी सामाग्रीहरु वितरण गरेको छ । कोशी प्रदेश सरकार, करुणा फाउण्डेसन र नगरपालिकाको सहकार्यमा ह्विल चियर, बैशाखी लगायतका सहयोगी समाग्रीहरु वितरण गरिएको हो ।
नगर भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको जीवन सहज बनाउन आवश्यक सहयोगी सामाग्रीहरु प्रदान गरिएको नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले बताइन् । बिद्यालय जाने उमेर भएर पनि बिद्यालयसम्म जान नसक्ने अपाङ्गता भएका बालबालिकाहरुलाई साक्षर बनाउन घर घरमै शिक्षकको व्यवस्था गरेर पनि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणमा स्थानीय सरकार लागेको पनि उनले जानकारी दिईन् ।
व्यक्तिहरुको आवश्यकताका आधारमा सहयोगी सामाग्रीहरु उपलब्ध गराईएको भन्दै कार्यक्रमको अध्यक्षता समेत गरेकी नगर उप प्रमुख भट्टराईले परिवारमा एकजना व्यक्ति मात्रै शारीरिक रुपमा अपाङ्ग भएमा परिवारनै समस्यामा पर्ने भन्दै बिभिन्न कार्डहरुको माध्यमबाट पनि अपाङ्गताको बर्गिकरण गरेर सहयोग गरिरहेको बताईन् ।
कार्यक्रममा सहयोगी सामाग्रीहरु वितरण गर्दै नगर प्रमुख रामकुमार थापाले सबै नागरिकको साथमा नगरपालिका रहेको उल्लेख गरे । कार्यक्रममा दमक नगरपालिका सामाजिक विकास समिति संयोजक शारदा भट्टराई सापकोटाले शारीरिक बनावटका आधारमा मानिसहरु वीच बिभेद गर्न नहुने भन्दै सबै नागरिकको अधिकार समान रहेको औल्याईन् ।