फिदिम,२७ साउन । फिदिम -फालौट सडकखण्ड अन्तरगत पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका- १ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते छन् ।हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
चालक हेमकर्णको दाहिने खुट्टा भाँचिएको छ । दुर्घटना हुँदा सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई उपचारार्थ अस्पतालमा पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
गाडिएको अवस्थामा रेशिकाको शव फेला
तेह्रथुमको आठराई गाउँपालिका–१ सङ्क्रान्ति गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।यही साउन १४ गते घरबाट बेपत्ता भएकी २४ वर्षीया रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिए ।
घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान् राजकुमार श्रेष्ठ पनि केही दिन अघि बेपत्ता भएको थियो । श्रीमान् श्रीमती नै एकाएक हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा खबर गरेका थिए ।
फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । होटल व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीया छोरी समेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बूले बताए ।