मेची सहकारीको प्रतिवेदन सार्वजनिक(फोटोफिचर सहित )

दमक,२८ साउन । दमक ६ स्थित मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आसन्न २५ औं बार्षिकोत्सव तथा २७ औं साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
विहिबार मोरङको पथरी सेवा केन्द्रको व्यवस्थापनमा पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिकरण कार्यक्रम सहकारीका सल्लाहकार समेत रहेका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै,सहकारीले रजत वर्षका अवसरमा डायरी र व्याज समेत सार्वजनिक गरिएको थियो ।
संक्षिप्त प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका अध्यक्ष नारायण भट्टराईले संस्थाका गतिविधिहरु, प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद वगालेले आर्थिक गतिविधि , संस्थाका अनुगमन समितिका संयोजक अम्बिका खनालले सहकारीका बारेमा आफनो विचार राखे भने नगर प्रमुख ओलीले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष पदम थापाका अनुसार कोभिड महामारीका कारण यसवर्ष पनि प्रतिनिधिमूलक ढंगले यहि साउन ३० देखि भदौ ६ गतेसम्म मुख्य कार्यालयसहित सवै सेवा केन्द्रमा गरि विभिन्न ११ स्थानमा साधारणसभा तय गरिएको छ । त्यस्तै, प्रतिवेदन उपर राय,सझाव भए भदौ १० गतेसम्म संस्थामा बुझाउन समेत अनुरोध गरिएको उनले जनाएका छन् ।

कार्यक्रम बोल्दै मेयर ओली


त्यस्तै, साधारणसभाकै कार्यक्रम अनुसार अघिल्ला बर्ष झै यसवर्ष भदौ ११ गते रक्तदान तथा चेतनामूलक कार्यक्रम,भदौ १२ मा इकाइस्तरका निर्णय एकीकृत साधारणसभा र छैठौ कार्यकालका लागि उम्मेदवारी दर्ता र १३ गते निर्वाचन कार्यक्रम शुरु गरिने उल्लेख छ ।
झापा,मोरङ र इलाम कार्यक्षेत्र रहेको सहकारीको शेयर सदस्य संख्या ९८४० पुगेको छ भने शेयर पूंजी ३१ करोड १४ लाख २ हजार ६ सय पुरयाँईएको छ । गत आर्थिक बर्ष २०७७(७८ को अवधिसम्म १ अर्व ९३ करोड ४ ला १७ हजार ७८० निक्षेप, २ अर्व ५० करोड २९ लाख ६४ हजार ३२८ ऋण लगानी गर्न सफल भएको प्रतिवेदनमा जनाईएको छ । संस्थाले यसवर्ष कुल ८ करोड २० लाख ७३ हजार ५सय ३९ रुपैया आम्दानी गरेको थियो ।

संस्थाका बारे जानकारी दिदै अध्यक्ष भट्टराई

कोरोना महामारीका बीचमा सहकारीले कारोवारको अवस्था बढाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार गतवर्षको सदस्य संख्यामा ६४.१३ प्रतिशत,शेयर पूंजीमा ४२.९६ ,निक्षेपमा ३६.९४ प्रतिशत,कर्जामा ६४.४७ प्रतिशत र नाफामा ३२.२४ प्रतिशत वृद्धि गर्न सफल भएको सिइयो वगालेले वताए ।
सहकारीले गतवर्षका नियमित सदस्य केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिदै थप वृद्धि गरिनुका साथैं यसवर्षदेखि ८४ बर्ष पुगेका ज्येष्ठ सदस्यहरुलाई लक्षित गरि उनीहरुको दिर्घजीवनको कामना गर्दे सम्मान कार्यक्रम वापत जनही ३० हजार अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष भट्राईले वताएका छन् ।

पथरी सेवा केन्द्रका संयोजक रुद्र तामाङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दमकसहित विभिन्न सेवा केन्द्रका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । संस्थाले दमकमा मुख्य कार्यालय, कमलको मंगलवारेमा ,उर्लावारी,मधुमल्ला,इलामको चुलाचुली,विर्तामोड सेवा केन्द्र सञ्चालनमा र गौरादह,सुरुङा,शिवसताक्षीमा सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भईरहेको उनले जनाएका छन् । त्यस्तै, इलामको वजार,रतुवामाई,बेलबारी र कानेपाखरी –लेटाङका सदस्यहरुलाई सुविधा पुग्ने थप सेवा विस्तार गरिने तयारी भईरहेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.