बिर्तामोड ,२७ साउन। जिल्लाको शनिश्चरे प्रहरी चौकीले भरुवा बन्दुक र चोरीका सामानसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनााई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीलाई बुझाएको छ ।
प्रहरीले झापा अर्जुनधारा नगरपालिका ४ बस्ने १९ वर्षीय आदित्य लिम्बूलाई चाँदीको १ थान सिक्री, टेलिकमको ५० दरको १९ थान रिचार्ज कार्ड सहित पक्राउ गरेको हो । यस्तै, सोही ठाउँ बस्ने २२ वर्षीय छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले चाँदीको औठी २ थान, चाँदीको पाउजु–२ थान र चाँदीको सिक्री–१ थान, एनसेलको रु ५० दरको रिचार्ज कार्ड ५–थान सहित फेला पारेको छ ।
प्रहरीले अर्जुनधारा ४ का २१ को निखिल तामाङलाई १ थान चाँदीको सिक्रीसहित पक्राउ गरेको जनाएको छ । चोरी गर्दा प्रयोग भएको खुकुरी–१ थान किराना पसलबाट बरामद गरिएको थियो ।
साउन २५ गते राती १० बजे अर्जुनधारा नगरपालिका वडा नं।७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी भएको सूचना पछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरी चौकी शनिश्चरेले वडा न.४ देवान चोकमा बसोबास गर्ने ३ जना युवालाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।