इटहरी,२७ साउन । इटहरीमा डेढ वर्षीया नाबालिकाको हत्या भएको छ । इटहरी उपमहानगरपालिका -५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले ती बालिकाको शनिबार दिउँसो हत्या गरेको प्रहरीले जनाएको छ ।
नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको विभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न लुइँटेल केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भू बस्नेतले जानकारी दिए । लुइँटेलको तीन वर्षअघि घरको छतबाट हाम फालेर ढाड पनि भाँचिएको अनुसन्धानबाट खुलेको बस्नेतले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।