आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

दमक,२४ साउन । आज २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस । आज झापाको कमल गाउँपालिका -५ स्थित आदिवासी रंगशालासहित देशैभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
आदिवासी रंगशालामा वृहत कार्यक्रम
नेपाल आदिवासी जनजाति महासंघ झापाले आज झापाको कमल गाउँपालिका वडा न ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा मनाउदै छ । झापा जिल्लाभित्रका १५ वटे पालिकाका सम्पूर्ण जातिय संस्थाहरुलाई समेटेर एकै ठाउँमा आज यस दिवस पहिचानका लागि भन्दै भव्य रुपले मनाउने सवै तयारी पूरा भएको नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।नेफिन झापाको संयोजकत्वमा आयोजक समिति समेत निर्माण गरेको छ ।
वृहत कार्यक्रममा संघीय सरकारका संस्कृति मन्त्री सुदन किराती, समाजशास्त्री डा.कृष्णबहादुर भटटचन, अधिबक्ता शंकर लिम्बू, सामाजिक अभियान्ता डकेन्द्रसिंह थेगिम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको तथा विभिन्न जातिय संस्थाहरुले आफनो सांस्कृतिक झाँकी समेत प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको नेफिन झापाका पूर्व अध्यक्ष पारषमणि राईले बताए ।

Leave a Reply

Your email address will not be published.