पथरीशनिश्चरे, २० साउन । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएपछि इलाका प्रहरी कार्यालय पथरीले हाल नियंन्त्रणको अभियानलाई तिव्रता दिएको छ।
लागुऔषध प्रयोग गरेर सवारी चलाउने र सार्बजानिक ठाउँमा होहल्ला गर्दै हिडनेलाई नियंन्त्रणमा लिई किटको माध्यमबाट चेकिङ अभियानलाई तिब्र गतिमा अगाडि बढाएको हो।
प्रहरीले एक हप्तासम्ममा ५० बढी शंकास्पद रूपमा भेटिएकाहरूलाई नियंन्त्रणमा लिएर चेकिङ गर्दा गाँजा तथा लागुपदार्थजन्य औषधीहरु प्रयोग गरेको भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक ब्रम्हदेव शाहले जनाएको छ ।
बजार तथा बस्तीहरुमा चोरीको घटना अत्याधिक बढेपछि इप्रका पथरीले पथरी नगर अस्पतालसँगको समन्वय गरि किटजन्य प्रविधि मार्फत चेकिङ अभियान सुरु गरेको छ।
प्रयोगकर्ताले कस्तो लागुऔषध प्रयोग गरेको हो,त्यो पत्ता लगाउन पिसाव टेष्ट गरि पत्ता लागाउन सकिने प्रविधीलाई अवलम्बन गरेको र चेकिङ अभियान सहज भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन विक्रम दाहालले जानकारी दिए ।
साथै, चेकिङको क्रममा लागु औषध प्रयोग गरेको पोजेटिभ प्रमाणित भएकाहरुलाई अभिभावकको समन्वयमा सुधारगृह पठाउने काम पनि भइरहेको डिएसपी दाहालले जानकारी दिए। लागुऔषध प्रयोग गरेर होहल्ला , झैझगडा र चोरी जस्ता गतिविधिहरू गरेको पाइएमा आवश्यक कार्वाही चलाउने समेत तयारी गरिरहेको डिएसपी दाहालको भनाई छ ।
परिवारका कोहि सदस्यहरु शंकास्पद रुपमा भेटिएमा उनिहरुलाई अभिभावक स्वयंमले नै पनि पथरी नगरअस्पतालसंग समन्वय गरेर चेकिङ गर्न सकिने व्यवस्था गरिएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताएका छन्।
नगरपालिका क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरु अत्याधिक बढेको जनगुनासो बढी आएकाले चेकिङ र कारबाही अभियानलाई तिव्रता दिन पथरीशनिश्चरे नगरकी उपप्रमुख देवीमाया काफ्लेले प्रहरीलाई अनुरोध गरेकी छन्। उनले प्रहरीलाई साथ र सहयोग गर्न आमजनप्रतिनिधी तथा नगरवासी सबैलाई अनुरोध पनि गरेकी छिन् ।