झापा,१९ साउन ।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ गते गर्ने निर्णय गरेको हो। संघ र प्रदेशको चुनावै एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
यसअघि २०७४ सालमा दुई चरणमा भएको थियो। पहिलो चरणमा २०७४ मंसिर १० गते र दोस्रो चरणमा मंसिर २१ गते भएको थियो।
यस पटक स्थानीय चुनाव पनि एकै चरणमा वैशाख ३० गते भएको थियो। त्यसकै आधारमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पनि एकै चरणमा गर्न सकिने सरकारलाई जानकारी दिएको थियो।
सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले मंसिर ४ गते चुनावमा गर्ने सहमति गरेको थियो। गठबन्धनको सुझावअनुसार, नै मन्त्रिपरिषद्को बैठकले चुनावको मितिबारे निर्णय गरेको हो। निर्वाचन आयोगले भने मंसिर २ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभाको समयावधि मंसिर २२ गते सकिने आयोगको निश्कर्ष छ।