दमक, १९ साउन । दमक नगरपालिकाको शैक्षिक पूर्वाधारको विकासमा संघीय सरकारले रु २१ करोड बढी रुपिया सहयोग उपलव्ध गराउने भएको छ ।काठमाण्डौ डेलिकेशनका क्रममा दमक नगरपालिकाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड सहितलाई भेटेर दमकको दमक बहुमुखी क्याम्पस, हिमालय माध्यमिक विद्यालय, र ढुकुरपानी माध्यमिक विद्यालयको शैक्षिक पूर्वाधार विकासमा वजेट शुनिश्चितता गरिएको नगर प्रमुख रामकुमार थापाले बताए ।
उनका अनुसार संघीय सरकारले यहाँका महत्वपूर्ण योजनाहरुलाई बजेटमा समावेश नगरेको भनि भईरहेको आलोचनाकाबीच दमक नगरपालिकाको प्रतिनिधिमूलक टोलीले सरकारी अधिकारीलाई भेटेर ती शैक्षिक पूर्वाधारको विकासका लागि बजेट सुनिश्चितता गर्नुका साथै दमकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुलाई समेत प्राथमिकतामा राख्दै थप वजेट उपलव्ध गराउन अर्थमन्त्री शर्मा सहमत भएका हुन् ।
विश्वबैकको लगानीमा ६ किमी सडक बनिने
त्यसैगरी विश्व बैंकको लगानीमा शहरी विकास मन्त्रालयद्वारा पूर्वाधार विकासको कार्यक्रम समेत स्वीकृत भएको छ । दमकका पूर्व प्रधानपञ्च स्व.धन बहादुर श्रेष्ठको घरदेखि पश्चिम तर्फ संगम चौक हुदै ताराबारी डिपुचोक जाने करिब ६ किलो मिटरको बाटो विश्वबैंकको लगानीमा बन्ने भएको छ । उक्त बाटो ५० फुट चौडाईको हुने छ भने त्यसका निम्ति बीच–बीचमा चाहिने पुल तथा कल्र्भट, सडक बत्ती साथै दुवै तर्फ साईकलको लेन समेत निर्माण हुनेछ । जसका लागी विश्व बैंकले रु ५८ करोड रुपैयाँ लगानी स्वीकृत दिएको छ ।