ताप्लेजुङ,१७ साउन । प्रहरी जवान भूपाल आचार्यको हत्या र चन्द्र देवानलाई गम्भीर घाइते हुनेगरी भएको घटनामा जन्मकैदको सजाय तोकिएका एक युवक १३ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका सुवास लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत ताप्लेजुङले २०७१ असोज ३१ गते जन्मकैदको फैसला गरेको थियो ।
प्रहरीको फरार सूचीमा रहेका सुवास भारतको बैंलोर, हैदरावाद, चेन्नई लगायतका ठाउँमा बस्दै आएको र गृहजिल्ला आएको मौका पारेर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार शुक्रबार सदरमुकाम फुङलिङ बजारबाटै पक्राउ गरिएको हो ।
२०६९ असोज १० गते दोभान बजारमा खटिएको गस्ती टोलीमाथि आक्रमण भएको थियो । उक्त घटनामा एक प्रहरीको मृत्यु हुनुका साथै एकजना गम्भीर घाइते भएका थिए । प्रहरीको हतियारसमेत खोसिएको भन्दै प्रहरीले अदालतमा मुद्दा चलाएको थियो ।
सुवासलाई जिल्ला अदालतमा पेस गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ । २८ वर्षीय सुवासले अदालतको आदशअनुसार अब २० वर्षसम्म कारागार बस्नुपर्ने छ ।