
विराटनगर, १७ साउन । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच उनीहरुको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरिएको हो । मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थियो ।
पछि राजा महेन्द्रले नवनिर्मित भवन उद्घाटन गरेपछि क्याम्पसको नाममा महेन्द्र थपिएको थियो । सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ डा घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी छन् । यसैगरी, कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको छ ।
सम्मानित प्राध्यापक र कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् अर्थशास्त्री डा भेषप्रसाद धमला, क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना लगायतले सम्मान गरेका थिए । महेन्द्र मोरङ क्याम्पसले डा तिमल्सिना क्याम्पस प्रमुख भएपछि २०७५ सालदेखि वार्षिकोत्सव मनाउन सुरु गरेको र २०७६ सालदेखि उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मानित गर्न सुरु गरेको थियो ।
समारोहमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले मोरङ क्याम्पसमा आफू सहायक प्रमुख भएर काम गर्दा चौतर्फी हित हुने काम गर्न कुनै काम गर्न नछुटाएको भन्ने लागिरहेकोमा वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्न भने छुटेको बताए । उनले महेन्द्र मोरङले शिक्षक र कर्मचारी सम्मान गर्ने कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।