दमक,१६ साउन । दमक- ८ स्थित झापा मोडल अंग्रेजी मावि ( जेम्स ) र ध्रुवतारा स्पोटिङ क्लबवीच खेलकुद विकासमा योगदान पुरयाँउन आज दुवै पक्षवीच सम्झौता भएको छ ।
आ–आफनो क्षेत्रमा प्रदेश एकमै अलग किसिमको पहिचान छोडन सफल ति दुवै संस्थाले दमकमा रहेर स्थानीय खेलकुदको बिकास र खेलाडीहरुको प्रतिभा पहिचान गर्दै खेलक्षेत्रमा विशेष योगदान पुरयाउन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
वडाध्यक्ष धर्मप्रसाद दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच उक्तसम्झौता पत्रमा बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठ र क्लबका अध्यक्ष मोहन मगरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्लबको सिफारिसमा खेल क्षेत्रमा अब्बल दुई जना विपन्न तथा बिद्यार्थीलाई सो बिद्यालयले निशुल्क शिक्षा प्रदान गर्नेछ । साथै ति खेलाडी बिद्यार्थीको प्रतिभा बिकासका लागि पनि बिद्यालयले विशेष सहयोग गर्ने उल्लेख गरिएको छ । सो अवसरमा प्रमुख अतिथी वडाध्यक्ष दाहालले खेलकुदको बिकासका लागि स्थानीय सरकारले विशेष महत्वसाथ सोचिरहेको बताउँदै वडा तहमा विनियोजन भएको बजेटबाट क्लबको कार्यालय र समग्र खेलकुद बिकासमा गर्न सकिने कामका बिषयमा छलफल गरिने बताए । उनले एउटा उपयुक्त खेलमैदानको व्यवस्था गर्न वडा लागिपरेको पनि बताए ।
सो अवसरमा क्लबका पूर्व अध्यक्षद्धय कमल कटुवाल , भिमराज केसीले झापा मोडल अंग्रेजी माविको इतिहास र क्लबको इतिहास उस्तै संघर्षपूर्ण रहेको चर्चा गर्दै बिद्यालयले क्लबसंगको सहकार्यमा खेलकुदको बिकास र प्रतिभा प्रोत्साहनका लागि चालेको कदम अत्यन्त सराहनीय भएको चर्चा गरे ।
बिद्यालयका संस्थापक जयबहादुर श्रेष्ठ र प्रिन्सिपल सागर श्रेष्ठले बिद्यालयले यस अघि अतिरिक्त कृयाकलाप अन्तर्गत अन्य सेक्टरमा राष्ट्रिय अन्तराष्ट्रियस्तरमा नै पहिचान छोडेको भएपनि खेलकुदका क्षेत्रमा कमी भएको महसुस गरेर खेलकुदको सर्वाङिगण बिकासका लागि क्लबसंग सहकार्यको प्रस्ताव गरिएको उल्लेख गरे ।
कार्यक्रममा क्लबका फुटबल एकाडेमी प्रमुख सुसन तामाङले सो क्लबले सवा सय बढी खेलाडीहरुका लागि निशुल्क प्रशिक्षण सञ्चालन गर्दै आएको जानकारी दिए । क्लबका अध्यक्ष मोहन मगरले अभाव र विविध समस्याकाबीच सो क्लबले खेलकुद क्षेत्रमा पुरयाइरहेको योगदानको चर्चा गर्दै प्रोत्साहनका लागि प्राथमिकता दिन सबैसंग आग्रह गरे । कार्यक्रमको सञ्चालन क्लबका सचिव हिरामणी खडकाले गरेका थिए ।
