सोलु करिडोरमा पुनः अवरोध

गाईघाट, १७ साउन । उदयपुरको कटारी नगरपालिका–४, मरुवा क्षेत्रमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको विषयलाई लिएर स्थानीयवासीले पुनः अवरोध गर्न सुरु गरेका छन् ।
स्थानीयवासीले उक्त क्षेत्रमा प्रसारण लाइनको रेखा परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए तर जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको निर्माणमा अवरोध गर्न नपाउने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी निर्माणको कामलाई तीव्रता दिइँदै आएको छ ।
कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम तीन वर्षदेखि रोकिँदै आएकामा गृह मन्त्रालयको आदेशअनुसार स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी केही दिन पहिलेबाट योजना सुचारु गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए । किसानले धान रोपेको जग्गामा आयोजनाले सुरक्षाकर्मीको बलमा टावर निर्माण गर्न थालिएपछि विरोध प्रदर्शन गर्दै शनिबार कटारी बजार बन्द गरेको नेपाली काँग्रेस कटारी नगर सभापति गोपी पराजुलीले बताए ।
आयोजनाले ओगट्ने सो क्षेत्रको ऐलानी जग्गाको प्रतिकट्ठा १९ लाखको दरले मुआब्जा दिने सरकारले निर्णय गरेको तर नम्बरी जग्गाको भने २०७५ सालमा गरिएको मूल्याङ्कनअनुसार प्रतिकट्ठा १० लाख रुपियाँ मात्रै कायम गरिएकाले ऐलानीभन्दा पनि नम्बरीको मूल्याङ्कन कम भएकाले आन्दोलन गर्नुपरेको उनले बताए ।
विवाद समाधान गर्न नब्बरी जग्गाको मूल्याङ्कन अद्यावधिक गरेर पुनः मुआब्जा निर्धारण गर्ने भनी गृह र ऊर्जा मन्त्रालयमा पछिल्लो पटक टोली जाँदा आश्वासन दिइएको भए पनि आयोजनाले त्यसो नगरी प्रहरीको बलमा काम अघि बढाएकाले रोकिएको उनले बताए ।
प्रजिअ सेढाईंले मुअब्जा बुझिलिन सूचना प्रकाशित गरेको, गृहको आदेश नआएसम्म योजना निर्माण क्षेत्रबाट सुरक्षाकर्मी हटाउन नमिल्ने र मुआब्जाको पुनः मूल्याङ्कन गर्न पनि केन्द्रले आदेश नदिएसम्म गर्न नसकिने स्पष्ट पारे । प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको आदेशअनुरूप टावर निर्माणको काम गरिएकाले माथिको आदेशबिना कुनै पनि अवस्थामा काम नरोकिने पनि उनले बताएका छन् ।
आयोजनाअन्तर्गत कटारी नगरपालिका–४, मरुवा, सिम्ले, बरमझियाका २३ घरपरिवारको ऐलानी र नम्बरी जग्गा पर्ने जनाइएको छ । आयोजनाको काम ९८ प्रतिशत सकिएको र कटारीको अवरोधले समस्या आएको आयोजना प्रमुख जर्नादन गौतमले बताए ।
कटारी क्षेत्रमा निर्माणका लागि अवरोध गरिएका १० वटा टावरमध्ये वन क्षेत्रका छवटा निर्माण सम्पन्न भइसकेको र चारवटा भने खेतमा पर्ने भएकाले स्थानीयवासीले अवरोध गर्दै आएको र अवरोध नभए १० भित्र ती चारवटा पनि निर्माण सकिने कटारीस्थित आयोजनाका सम्पर्क अधिकृत दीपक गौतमले बताए ।

Leave a Reply

Your email address will not be published.