मोरङ ,१५ साउन । विपरीत दिशाबाट साइकल चलाएको भन्दै एक मजदूरमाथि मुक्का हान्ने विराटनगरका आयुष भेटवालविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।आइतबार मोरङ जिल्ला अदालतमा १९ वर्षीय आयुष र उनका साथी १७ वर्षीय किशोरविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । किशोर भने हाल फरार छन्। उनीहरुविरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको छ ।
मुद्दा दायर भएसँगै सोमबारबाट अदालतले बयान लिने उनले बताए । बयान सकिएपछि थुनछेक बहस हुनेछ । घटनामा संलग्न भनिएका तेह्रथुम फेदाप गाउँपालिकाका ३० वर्षीय रोशन कार्कीविरुद्ध भने मुद्दा नचल्ने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ ।
गत असार २० गते राति करिब ८ बजे कामबाट घर फर्किरहेका २७ वर्षीय पवनकुमार साहलाई आयुषले मुक्का हानेका थिए । बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुष र उनका साथीले विपरीत दिशाबाट साइकलमा फर्किरहेका साहमाथि मुक्का हानेका थिए।
मुक्का प्रहारपछि बेहोस भएका साहलाई उनीहरुले घिसार्दै सडकछेउ लगाएर हिँडेका थिए। उक्त घटना सिसिटिभीमा कैद भएपछि आयुष भोलिपल्ट पक्राउ परेका थिए। उनलाई छुटाउन नेतादेखि मन्त्रीसम्मको दबाब आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।