इसाई समाजको रक्तदान, १३५ पिन्ट रगत संकलन

दमक,१४ साउन । दमक नगर इसाई समाजले यहाँ आयोजना गरेको खुला रक्तदानमा १३५ पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा आयोजित खुला रक्तदानमा ४७ महिलासहित १३५ जनाले रगतदान गरेका छन् ।

दमक नगर इसाई समाजले रगतको अभाव हुन नदिन बर्सेनी रक्तदान कार्यक्रम गरिआएको छ । समाजको यो ४६ औं रगतदान हो । रक्तदानमा सहभागि रक्तदाताहरुलाई फलफूलको विरुवा प्रदान गरिएको कार्यक्रम संयोजक सुरज लिम्बूले बताए ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा विभिन्न चर्च तथा मण्डलीका पास्टर, एल्डर गुरुजन,ख्रिस्टीयन अनुनायीहरुको उल्लेखीय उपस्थिति रहेको थियो । सोहि अवसरमा समाजले यसपटकको एसईइ परीक्षामा उत्कृष्ट जि.पि.ए. अंक ल्याएर उत्तीर्ण हुने दमक -५ का समपर्ण लामगादेसहितका विद्यार्थीहरुलाई हौसला स्वरुप पुरस्कृत गरिएको थियोे ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षतामा भएको रक्तदानमा प्रमुख अतिथि भट्टराई,समाजका निवर्तमान अध्यक्ष एबम् सल्लाहकार पाष्टर आकाश थुलुङ राई, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम सहितका वक्ताहरुले रगतदानको महत्व माथि चर्चा गरेका थिए ।  कार्यक्रमको सञ्चालन समाजका सचिव अजय पाठकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.