सुनसरी , १४ साउन । सुनसरीस्थित भण्टाबारीमा बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले आफनो बचत रकम फिर्ता पाउन माग गर्दे आन्दोलनमा उत्रिएका छन् ।सञ्चालकले बचतकर्ताको ४० लाख बढी रकम लिएर फरार भएपछि अझैसम्म बचत रकम फिर्ता नभएपछि बिचल्लीमा परेका उनीहरु आन्दोलित भएका हुन् । चार वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको पीडितको भनाई छ ।
उनीहरुका अनुसार रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकाले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए । आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रर्दशन गरेका छन् । सञ्चालकले तीन सयभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको पीडितले आरोप लगाएका छन् ।
पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताहरुले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।
यता सहकारी संस्थाका एजेन्टका रुपमा रहेका बचत सङ्कलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट बचत सङ्कलन गरी रकम जम्मा गरे पनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तेको बताए । आफूले बारम्बार बचतकर्ताको निशानामा पर्दा समेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उनको भनाइ छ ।
यता सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट सङ्कलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताउदैआएको छ ।
सञ्चालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा बचतकर्ताहरुसँग मतभेदको अवस्था सिर्जना हुँदा अवस्था असहज बन्न पुगेको बताए । उनले अडिट रिपोर्ट प्राप्त हुनासाथ बचतकर्ताको रकम फिर्ता दिइने बताए ।