करेन्ट लागेर कचनकवलका राजवंशीको मृत्यु

झापा, १३ साउन । करेन्ट लागेर झापा कचनकवलका एकजनाको मृत्यु भएको छ । यसरी ज्यान जानेमा कचनकवल वडा नं ७ सिधागुरी टोल बस्ने ५० वर्षीय अरूण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घरनजिकै रहेको सिँचाईको मोटरमा तार जोडने क्रममा गएराति उनलाई करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार राजवंशी खेतमा पानी लगाउनका लागि नाङ्गो खुट्टा, हातमा टेप बोकी मोटर चालु गर्न गएका थिए । मोटरको एउटा तार चुँडिएकोले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने स्थानीयको बुझाई रहेको छ ।
स्थानीयका अनुसार अव्यवस्थित रूपमा जडान गरिएको विद्युत लाइनमा आफैंले मोटर जडान गर्न खोज्दा करेन्ट लागेको हो । घटना राति करिब ९ः३० बजे घटेको भएपनि घरमा कोही पनि नभएकाले विहान मात्र थाहा भएको थियो ।
यो घटनासँगै कचनकवल गाउँपालिकामा पछिल्लो एक वर्षको अवधिमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.