-छविराज ढकाल
पथरी शनिश्चरे, १२ साउन । स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएयता गाउँ शहर जताततै भित्री सडकहरूमा पनि धमाधम निर्माण र कालोपत्रे गर्ने कार्य भइरहेका छन् । विगतमा वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्मे हुने सडक खण्डहरू पनि यतिबेला जनप्रतिनिधिहरूको सक्रियतासँगै भटाभट निर्माण भइरहेका छन्।
यसै सन्दर्भमा, मोरङको पथरी शनिश्चरे वडा नं ९ र ४ को सिमानामा पर्ने दुर्गा मन्दिरदेखि जनएकता टोल हुँदै सिंहवाहिनी माविसम्मको ३ किलो मिटर सडकमा कालोपत्रे भएको छ। उक्त ३ किलोमिटर लामो सडकमा संघीय सरकारको २ करोड ६२ लाख ६ सय ४९ रूपैयाँ बराबरको बजेटबाट कालोपत्रे गरिएको वडा नं ९ का वडा अध्यक्ष वीरबहादुर राईले बताए।
धेरै वर्ष अघि पैदल हिँड्न पनि वर्षा याममा हिलाम्मे भएर र हिउँदमा धुलो उडेर आवतजावतमा निकै कठिनाइ भोग्दै आएका ती ती वडाका वडावासीहरूले अहिले कालोपत्रे भएपछि सुविधा प्राप्त भएको स्थानीय चित्राखर भट्टराईले बताए । उनले स्तरोन्नति का लागि दुवैपट्टि नाला बनाउने काम पनि वडा कार्यालय बढाउने विश्वास व्यक्त गरे ।
यसैगरी, शनिश्चरे बजारमा रहेको भागीरथ माध्यमिक विद्यालय र सिंह बाहिनी माध्यमिक विद्यालय जान आउन स्थानीय बालबालिकालाई पनि अति नै सहज भएको अर्का स्थानीय महेन्द्र कार्कीले बताए । उनले यो भन्दा अघि बाटो हिलाम्मे हुँने हुनाले हिलो( गादो र धुलाम्मे हुंनाले यो बाटोमा पिच हुँदा धेरै सुविधा भएको सुनाए।
यस्तै, वडा नं २ को रत्न मार्ग अन्तर्गत पथरी बहुमुखी क्याम्पसदेखि सरस्वती आधारभूत विद्यालय, कालापानी सम्मको ३ किलोमिटर सडकमा संघीय सरकारको क्रमागत बजेटबाट कालेपत्रे गरिएको वडाध्यक्ष नैना साम्पाङ राईले जनाए ।
सहिद रत्न मार्ग अन्तर्गत बहुमुखी क्याम्पसदेखि बुद्ध चोक हुँदै बोक्रे चोक ( कालापानी सम्म जोड्ने करिव ३ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ।
कालोपत्रेका लागि विराटनगरको जोशिला रनकालिमाता जेभी निर्माण कम्पनीले कुल १ करोड ८२ लाख ५३ हजार १४९ रुपैयाँ (भ्याटसहित) को सम्झौतामा कालोपत्रे गरिएको छ ।
सोहि क्रममा वडा नं २ का वडा अध्यक्ष नैना राईले गत आर्थिक वर्षमा वडा भित्रका विभिन्न विकास आयोजना तथा कार्यक्रमहरु उल्लेख गरेका छन्। ३१ वर्षपछि सो सडकमा पिच भएको भन्दै स्थानीय अगुवा देविप्रसाद ढकालले बताए।
यता , वडाभित्र सडक तथा भौतिक विकासका पूर्वाधारहरूले पछि परेका टोल , चोक र क्षेत्रहरूलाई सडक सञ्जालले जोड्ने मुख्य उद्देश्यका साथ थुप्रै काम गरेको हो।
यसै गरी, बुद्ध मार्ग अन्तर्गत पारूहाङ टोलदेखि साधु टोल सम्म र रजत जयन्ती मार्ग त्रिभुज चोकदेखि दक्षिण सडक खण्डमा कालोपत्रे गरिएको छ।
नगरपालिकाको बजेटमा वडा नं २ र ३ को सिमाना पुल र प्रगति टोलमा माथिल्लो पुल निर्माण भईसकेको छ।
यसै क्रममा चालु आर्थिक वर्षभित्र कोशी प्रदेश सरकारको बजेटबाट १५ लाख ५० हजार रूपैयाँको लागतमा सरस्वती टोल पूर्व कालापानी जाने बाटोमा पनि ड्रेन निर्माण गरिएको छ।
यसैगरी, वर्षौं वर्षदेखि हिलो र धुलोले असजिलो भोग्दै आएका ग्रामीण क्षेत्रका नागरिकहरूले सडक निर्माण विस्तार र स्तरोन्नतिले थप गति लिएपछि अहिलेलाई सुविधा महसुस गरेका छन् ।
त्यसैगरी, पथरी शनिश्चरे नगरपालिकाको पश्चिम दक्षिणमा रहेको वडा नम्बर ८ र ४ का सिमाना जोडिएका सोमबारे बुद्ध माध्यमिक विद्यालय देखि पूर्वतर्फको खोलासम्म र कुशल चोकदेखि दोहलु शुक्रबारेसम्मको करिब एक किलोमिटर लामो सडक खण्डमा कालोपत्रे गरिएको छ।
सोही वडाकै मिलनचोकदेखि शिवजी चोकसम्म पनि कालोपत्रे गरिएको वडाध्यक्ष तथा नगरप्रवक्ता नवीन कार्कीले बताए । ती सडकहरूमा कोशी प्रदेश सरकारले ८० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो। यसैगरि, वडा नम्बर ४ कै पुलचोकदेखि भातेगौंडासम्मको एक किलोमिटर लामो सडकखण्डमा पथरी नगरपालिकाले १ करोड र कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कालोपत्रे भएको वडाध्यक्ष लोक किरण न्यौपानेले बताए ।