दमक,११ साउन । डेंगी नियन्त्रणका लागि दमक नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ ।दमकमा केहिदिन यता डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले विहिबार दमक बजारमा ¥यालीसहित होटल तथा पसलका भाँडाकुँडा र खाल्डाखुल्डीमा जमेको पानी नष्ट गरिएको छ । जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले बताए ।
आज दमकको पुर्व पश्चिम राजमार्गको दुवै पट्टि चिया दोकान चौक देखी बसपार्क सम्म लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । आज अधिकांश जमेको पानीमा डेंगी सार्ने लामखुट्टेका लार्भा समेत भेटिएको थियो ।डेंगी नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने दमक नगर उप प्रमुख रेगिना भट्टराईले बताइन् ।
डेंगीबाट जोगिनको लागी लार्भा नष्ट गर्ने अभियाननै प्रभावकारी उपाय भएको भन्दै उनले धुवाँ स्प्रे गर्दा बालबालिका, जेष्ठ नागरिक, गम्भिर प्रकारका बिरामीलाई असर गर्ने भएकाले लार्भा नष्ट अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे ।
दमकमा अहिले दिनदिनै डेंगी संक्रमित बढिरहेको दमक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण शाहले बताए । दैनिक तिन ,चार जना डेंगीको लक्षण भएका बिरामी उपचारका लागी आउने गरेको उनले बताए ।
डेंगी संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको दमक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शाहले बताए । सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको छ । सामान्य बिरामीलाई भने सिटामोल खाएर घरमै बस्न सल्लाह दिने गरेको उनले बताए ।