कोशीका मुख्यमन्त्री थापा पदमुक्त,अर्को सरकार गठन गर्न सर्वोच्चको आदेश

झापा, ११ साउन। कोशी सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो ।
२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने बताएको छ । सभामुखको त्यस प्रकारको अधिकार नरहेको भन्दै सर्वोच्चले सभामुखको समर्थन संविधानसम्मत नभएको उल्लेख गरेको छ । सर्वोच्चले एमाले नेता कार्कीको चाहना अनुसार उनलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन अस्वीकार गरेको छ ।

 

अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको थियो ।साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ ।

अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

Leave a Reply

Your email address will not be published.