दमक,११ साउन । जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दिदीवहिनी घाइते भएका छन् । आज बिहान अन्दाजी ४ः१५ बजे दमक नगरपालिका– १ बरगाछीस्थित भित्री सडकखण्डमा दमक १ बस्ने प्रदिपकुमार राईकी श्रीमती ४७ वर्षीया सुनिता राई र सोही ठाउँ बस्ने सुरेश राईकी श्रीमती ४२ वर्षीया कविता राई बिहानको मर्निङ वाक निस्किई बाटोमा हिड्ने क्रममा अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट सुनिताको टाउको, दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरीरको बिभिन्नमा भागमा चोट लागेको छ । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ । कविताको बाँया खुट्टाको कुर्कुच्चामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
दुबै जना घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल रेफर गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले जनाएका छन् ।
गाउँमा जङ्गली जनावरको आतङ्क
इलामको माईजोगमाई गाउँपालिकाको उत्तरपूर्वी क्षेत्रमा जङ्गली जनावार गाउँ पसेपछि स्थानीयमा त्रास बढेको छ । एक महिना यता गाउँ पसेको चितुवाले स्थानीयको खोरबाटै खसीबाख्रा मार्न थालेको छ ।
शनिवार राति माईजोगमाई–२, लोसेका शेरबहादुर गुरुङको बाख्राको खोरमा चितुवा पसेर माउँ बाख्रा मारेको छ । केही दिनअघि पनि लोसेमा तीन वटा बाख्रा चितुवाले खोरमै खाएको यहाँका पशु प्राविधिक रविन गुरुङले जानकारी दिए ।
यस्तै, शनिवारराति नै माईजोगमाई–२, मुलखर्कका हर्कसिंह राई र माईजोगमाई–२, बिज्जेका गोपाल खड्काको बाख्रालाई चितुवाले मारेको जानकारी आएको छ । पछिल्लो समय चितुवा, बँदेल र बाँदरजस्ता जङ्गली जनावरले दिनहुँजसो घरपालुवा जनावर मार्ने र अन्नबालीमा नोक्सानी गर्न थालेपछि किसानहरू त्रसित भएको स्थानीय सञ्चारकर्मी रोशन काफ्लेले जानकारी दिए ।
किसानले लगाएको मकै, आलु, फर्सी, स्कुसजस्ता तरकारी बाली जङ्गली जनावरले खाएर नस्ट गर्ने गरेको स्थानीय किसानको भनाइ छ । स्थानीयहरू एक्लै घाँस, दाउरा गर्न जङ्गल जान र विद्यालय जाने बालबालिकालाई समेत विद्यालय–घर गर्न समस्या हुन थालेको बताइएको छ ।