दमकमा स्क्रब टाइपसका ३ जना विरामी फेला

दमक, ११ साउन । झापाको दमकमा स्क्रब टाइपसका तीन जना विरामी फेला परेकाछन् । कोरोना र डेंगु रोगसंग लक्षण मिल्दोजिल्दो यो रोग ओरेन्सिया सुसुगामुसि नामको जिवाणुले गर्दा लाग्ने गर्दछ । यस जिवाणुले संक्रमित माइट–सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा लगायतको टोकाइबाट सर्न सक्दछ ।
सरकारी दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालका अनुसार डेंगु र स्क्रब टाइपसका विरामीहरु उपचारमा आउन थालेकाछन् । स्क्रब टाइपस एकसाताको अवधिमा तीन जना विरामीको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । स्क्रब टाइपसको संक्रमण हुँदा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गर्दछ ।
सास फेर्न गाह्रो हुने, शरीर बाँउडिने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने पखला लाग्ने, जिउ दुख्ने, जोर्नी र मांशपेशीमा पीडा हुने, गर्दन, नितम्ब र पाखुरामा गाँठो देखिने, रगतमा प्लेटलेट्सको संख्या घटदै जाने, छाती पाखुरा, हात खुट्टामा गुलावी बिमिरा देखिने जस्ता लक्षण देखा पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यो रोग देखिन थालेकाले लक्षण देखिएमा समयमै उपचार गर्नु पर्नेमा पनि स्वास्थ्यकर्मीहरुले जोड दिएकाछन् ।
दमक नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईका अनुसार यो रोगको समयमा उपचार नहुँदा दीर्घकालसम्म सुन्ने क्षमता गुम्ने, रक्तचाप कम हुँदै जाने, मिर्गौलाले काम गर्न छाड्ने, शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुँदा सामान्य जिवाणुले पनि सजिलै संक्रमण गर्ने जस्ता जटिलताहरु देखा पर्न सक्ने भएकाले समयमा नै सचेत बन्नु पर्दछ ।
हाल अस्पतालमा आउने बिरामीहरु धेरै जसो ज्वरो,खोकीका लक्षण लिएर आउने संख्या बढ्न थालेको र सरुवा रोगहरु हुनसक्ने भएकाले पर्याप्त सचेतता अपनाउने कार्य गरिएको समेत भट्टराईले जनाए । कोरोना संक्रमित भएका विरामीहरुका लागि दमकमा दमक अस्पताल मातहत बेग्लै उपचार केन्द्र रहेपनि अन्य सरुवा रोगहरुको दमक अस्पतालमा नै उपचार हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.