दमक ,१० साउन । रोटरी क्लब अफ दमकले शनिबार दमक -७ स्थित रतुवा खोलाको बाँधमा वृक्षरोपण गरेको छ । बाँध क्षेत्रलाई स्वच्छ तथा हराभरा बनाई सौन्दर्यकरण गर्न लक्ष्य राखेर वृक्षरोपण गरिएको हो।
रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको स्वच्छ वातावरण अभियानअन्तर्गत क्लवले ५० हजार बिरुवा रोप्ने लक्ष्य अनुरूप त्यहाँ आँप , अम्बक, सिरिस लगायतका उन्नत जातका २४० बिरुवा रोपिएको हो ।
क्लबका पूर्व अध्यक्ष समेत रहेका सामाजिक कार्यक्रम संयोजक सन्दिप चापागाईंले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा टेवा पु–याउने उद्देश्यले रोटरीसहित विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा वृक्षरोपण गरिएको बताए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित वृक्षरोपण शुभारम्भ कार्यक्रममा दमक वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, दमक रोटरीका पूर्व अध्यक्षहरु, रोटरी तथा रोट्रयाक क्लबका पदाधिकारी, सामाजिक संघसंस्थाका प्रतिनिधि ,स्कूलका विद्यार्थी, नेपालीरिका होटलका कर्मचारी लगायतको उल्लेखीय उपस्थिति रहेको थियो ।
वृक्षरोपण शुभारम्भ कार्यक्रममा बोल्दै सहभागि वक्ताहरुले वातावरण तथा पर्यावरण संरक्षण गर्न यस किसिमका कार्यले स्थानीय क्षेत्रको स्वच्छता तथा सौन्र्दकरणमा सहयोग पुग्ने चर्चा गरेका रोटरी क्लब अफ दमकका सचिव अम्बिका न्यौपानेले बताईन् ।