दमक ,९ साउन । झापाको कमल गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीहरु अध्ययन गर्ने विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ ।कमल गाउँपालिकाले पालिकाका सबै जनप्रतिनिधिका विद्यालय जाने उमेरका छोराछोरीहरुको अध्ययन गर्ने शिक्षण संस्थासहित यथार्थ विवरण सार्वजनिक गरेको हो ।
कमल गाउँपालिकाको २०८० बैशाख १९ गते बसेको बैठकले पालिका मातहतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरुको आकर्षण वृद्धि गर्न पालिका भित्रका सम्पूर्ण जनप्रतिनिधिले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनु पर्ने निर्णय गरेको थियो ।
सोहि निर्णय अनुसार पालिकाले जनप्रतिनिधिहरुको आ–आफ्ना छोराछोरीको यथार्थ विवरण सार्वजनिक गरिएको अध्यक्ष हुकुमसिंह राईले बताए । पालिकाले गत जेठ ११ गते सबै जनप्रतिनिधिहरुलाई त्यस सम्बन्धी विवरण पठाउन पत्राचार गरेको थियो ।
अध्यक्ष राईले जनप्रतिनिधिहरुलाई थप जिम्मेवारी बोध गराउन यस्तो निर्णय गरिएकाले यसले सामुदायिक विद्यालयको शिक्षामा सुधार आउने विश्वास व्यक्त गर्छन् । उनले भने,–‘ जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्छ भन्ने नैतिक रुपमा यो निर्णयले दबाब पर्ने छ । ’
जनप्रतिनिधिहरुका छोराछोरीहरु अनिवार्य रुपमा सामुदायिक विद्यालयमा नै अध्ययन गराउनु पर्ने बाँध्यात्मक व्यवस्था नभएतापनि कमल गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधिहरुको विद्यालय उमेरका छोराछोरीहरु अध्ययन गर्ने शिक्षण संस्थाको यथार्थ विवरण सार्वजनिक गरिएको र यसले शिक्षामा जनप्रतिनिधिहरुको योगदानको अवस्था झक्लिने उनको भनाई छ ।
हालसम्म देशभरका कुनै पनि पालिकाहरुले आफ्ना जनप्रतिनिधिहरुका छोराछोरी पढ्ने बिद्यालयहरुको विवरण सार्वजनिक गरेका छैनन् । ७ वडा रहेको यस गाउँपालिकाका ३९ जना जनप्रतिनिधिमध्ये धेरैजनाको छोराछोरी विद्यालयमा अध्ययनरत रहेका छैनन् । केहीले सामुदायिक र केहीले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जसमध्ये कमल वडा नं १ का वडासदस्य चैतन्यप्रसाद चम्लागाईका आफ्ना दुई छोरीहरु समृद्धि र सामना ज्ञानज्योति बोर्डिङ गौरादहमा र वडा नं २ की वडा सदस्य कल्पना राईले आफ्ना छोरा स्पोर्टिङ क्लब एकेडेमीमा , वडा न. ५ की वडा सदस्य चन्द्रकला सुब्बाको छोरी फूङसा दमकको चुलाचुली अंग्रेजी बोर्डिङ स्कूल कक्षा ८ मा अध्ययनरत रहेको उल्ल्ेख छ । त्यसैगरि, वडा न. ७ की वडा सदस्य हिमादेवी नेपालीको छोरा हिमेश बराईली स्मारिका अंग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत रहेको सार्वजनिक प्रतिवेदनमा जनाईएको छ ।
शिक्षक र कर्मचारीको पनि विवरण ल्याउदै
पालिकाका अध्यक्ष राईले शिक्षामा गुणात्मक सुधार ल्याउन जनप्रतिनिधि मात्र नभई कर्मचारी ,शिक्षकहरु स्वमको विशेष योगदान हुनसकेमात्र शिक्षाको गुणस्तर अभिबृद्धि हुने भएकाले अव जनप्रतिनिधि पछि कर्मचारी र शिक्षकहरुका छोराछोरी अध्ययन गर्ने शैक्षिक संस्थाको विवरण निकालिने तयारी भईरहेको बताउँछन् । एक साताभित्रमै पालिका भित्रका सवै सरकारी कर्मचारी र शिक्षकहरुको छोराछोरी पढ्ने स्कूलको विवरण निकाल्ने तयारी भईरहेको अध्यक्ष राईको भनाई छ ।
शिक्षामा यो कदमले पालिका भित्रका सामुदायिक विद्यालयले फड्को मार्ने सरोकारवालाहरुको जोड छ । कमल–१, स्थित नरेन्द्र जनता माविका प्रधानाध्यापक बद्री कार्कीले पालिकाको यस निर्णयले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । कुनै पनि नागरिकलाई आफना छोरोछोरी कहाँ पढाउने भन्ने कुरा उसको स्वतन्त्र अधिकार भएता पनि स्थानीय सरकारले जनप्रतिनिधिहरुका लागि यो कदमले सामुदायिक विद्यालयको विकासमा टेवा पुग्ने उनको भनाई छ । अव यो निर्णय कार्यान्वयनमा जनप्रतिनिधिहरुमा प्रतिवद्धता आउन सकेमात्र यो कदमको सार्थकता रहने उनले बताए ।
शिक्षामा पालिकाको उच्च प्राथमिकताका कारण यसवर्षको माध्यमिक शिक्षा अन्तर्गतको एसईईको परीक्षामा हालसम्मकै धेरै उत्तीर्ण गराउन सफल भएको थियो । यो पटकको एसईई परीक्षाको नतिजा ७१ प्रतिशत प्राप्त गर्न सफल भएको थियो । दश वटा सामुदायिक विद्यालयबाट सहभागि ४६५ जना परीक्षार्थी मध्ये ३२९ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको पालिकाले जनाएको छ । एसईई तर्फको यो नतिजा जिल्लाकै उत्कृष्ठ भएको दावी पालिकाको छ ।