दमक ९ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक उत्पादनमूलक सामग्रीको प्रचुर वजार भएकाले त्यसको व्यवसायिक प्रर्वद्धनमा जोड दिनुपर्ने खाँचो रहेको औल्याएका छन् ।
झापाको कमल–६ मा अवस्थित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. अन्तर्गत सञ्चालित दिब्यदृष्टि पुजा सामग्री उद्योगको शुक्रवार निरीक्षण गर्दे उनले थोरै पूंजीबाट मनग्यै गर्न सकिने यस किसिमका उद्योगले स्थानीय रोजगार, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान दिन सक्ने बताए ।
यस्ता उद्योग प्रदेशको आत्मनिर्भरता र उद्यमशीलताका दृष्ट्रिकोणबाट उदाहरणीय हुने चर्चा गर्दे मुख्यमन्त्री कार्कीले भने , –‘यस्ता उद्योगलाई टेवा पुरयाँउन प्रदेश सरकारको तर्फबाट आवश्यक नीति तथा सहकार्यमा सहयोग रहने छ ।’
उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यवसायिक विस्तारबारे जानकारी गराएका थिए ।
अग्र्यानिक बाटेको मच्छडधुप र पुजाका लागि बाटेको धुप उत्पादन गर्दै ६० भन्दा बढि महिलाहरुलाई अर्ध रोजगार र १५ जनालाई पूर्ण रोजगार दिएको उद्यमी पोखरेलको भनाई छ ।
उद्योगका अध्यक्ष पोखरेलले भने, “दिब्यदृष्टि ब्रान्ड अन्तर्गत हामीले शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पुजा सामग्री उत्पादन गर्दै आएका छौ । धार्मिक आस्थाका सामग्रीमा गुणस्तर कायम राख्दै स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो उद्देश्य हो ।”
कार्यकारी प्रमुख तिम्सिनाका अनुसार हाल उद्योगबाट नवग्रह समिधा, हवन सामग्री, दिब्य समिधा, परिमल, बाटेको धुप, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौ लगायत दुई दर्जनभन्दा बढी पुजा सामग्री उत्पादन भई कोशी प्रदेशका सबै जिल्ला सहित काठमाडौं, चितवन, बुटवल, नेपालगञ्ज ,दाङलगायत देशभरका मुख्य शहरसम्म निर्यात गरिदैआएको छ ।
उद्योगले उत्पादनमा स्थानीय कच्चा पदार्थको उपयोग, महिला उद्यमशक्तिको प्रोत्साहन, र जैविक उत्पादनको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ । निकट भविष्यमा प्याकेजिङ सुधार, बजार विस्तार र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य रहेको तिम्सिनाले जानकारी दिईन् ।उद्योग निरीक्षणका क्रममा मुख्यमन्त्रीसँगै प्रदेशसभा सदस्य होमबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।