उर्लाबारी, १० साउन । मोरङको उर्लाबारी -५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएका छन् । बिहीबार बिहान उनी कोठामा अचेत अवस्थामा भेटिएका थिए । यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका थिए ।
यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर ८: ४० बजे मा अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
शव पोस्टमार्टमका लागि उर्लाबारी ३ मङ्गलवारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको छ । डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।