याक्थुङ आइडलको सांगीतिक यात्रा दमकबाट प्रारम्भ


दमक, ९ साउन ।
सिक्किममा आयोजित ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको सांगीतिक यात्रा दमकबाट शुरु भएको छ । सिक्कीम बाहिर पहिलोपटक दमकबाट सांगीतिक यात्रा शुरु गरिएको सिक्किमस्थित नियारा प्रोडक्सनले जनाएको छ ।
उक्त प्रोडक्सनको आयोजनामा आइतवार दमकमा ‘याक्थुङ आइडल २०२१ सिजन १’का बिजेता सहित टप ६ फाईनलिष्टहरुको साथमा साँगीतिक कार्यक्रम भएको थियो । नियारा प्रोडक्सनका प्रबन्ध निर्देशक नियारा सुब्बाले नेपालको सांगीतिक टुर दमकबाट प्रारम्भ भई पूर्वी पहाडका विभिन्न शहरमा कार्यक्रम प्रस्तुत गरिने जानकारी दिईन् । सांगीतिक टुर दमक पछि ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानमा आयोजना गरिने छन् ।
उनले यस साँगीतिक टुर सकिए लगत्तै ‘याक्थुङ आइडल सिजन २’ घोषणा गर्ने जनाईन् । ‘याक्थुङ आइडल याक्थुङ गीत संगीत माया गर्नेहरुको मञ्च हो’ प्रवन्ध निर्देशक सुव्वाले भनिन, – ‘बिश्व भरि छरिएर बसेका याक्थुङ भाषाको गीत संगीतलाई माया गर्ने, मनपराउने जुनसुकै जाती वा भाषीहरुले याक्थुङ आईडलमा सहभागी जनाउन सक्छ ।’ उनका अनुसार ‘याक्थुङ आईडलमा सहभागी हुन जात ,थर सवैले भाग लिन सक्ने तर याक्थुङ भाषाको गीत भने अनिवार्य गाउनु सक्नु पर्ने हुन्छ ।
नियाराले दमकमा ‘याक्थुङ आइडल’को अडिसन गर्ने समेत बताईन । उनले बिगत ६ बर्षदेखिनै नियारा प्रोडक्सन मार्फत याक्थुङहरुको कला, सँस्कृति, भाषा, भेषभूषा, गीत संगीतको संरक्षण सम्बद्र्धनमा निरन्तर काम गर्दै आएको बताईन् ।
आयोजक र गुरु टोली फाउण्डेसनले सिक्किमबाट आएका कलाकार टोलीहरुलाई सम्मान र मायाको चिनो समेत प्रदान गरेको छ । सांगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन १ बिजेता पिङकी बेघा, टप ६ फाईनलिष्टहरु आशिष लिम्बू, अन्जना लिम्बू, सन्चमान लिम्बू, सुहाङ लिम्बू, सावन लिम्बू लगायत गायीका स्वस्तिका सावदेन, लक्ष्मी लिम्बु, गायक चोत्लुङहाङ केदेम, दिलिप माखिम र राजन बेघाले साँगीतिक प्रस्तुति दिएका थिए ।
कलाकार तथा समाजसेवी त्रिभुवन लुङ्फुङ्वाको प्रमुख आतिथ्यतामा भएको सांगीतिक कार्यक्रममा याक्थुङ मुनचइत चोक सयङका केन्द्रीय महासचिव बिक्रम फागो वनेम र याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पन्धाक र सिक्किमका तरेबा भिम सुव्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति सेसेमी से नाल्वो, भेषभूषा खोज अन्वेशक तथा कलाकार राजकुमार आङदेम्बे, गायक तथा संगीतकार प्रकाश सावदेन, लिम्बू विद्यार्थी मञ्च झापाका कार्यवहाक अध्यक्ष दिलहाङ सङवाम्फे, कलाकार तथा लेखक मिलन लावती, गुरु टोली फाउण्डेसनका अध्यक्ष बिशाल देवानलागायतको उपस्थिति रहेको थियो ।
याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ का कोषाध्यक्ष अनिस लावतीको संयोजन तथा याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ को आयोजनामा सम्पन्न कार्यक्रम मुन्चइतका अध्यक्ष भुपेन्द्र तुम्बाहाङफेको अध्यक्षतामा सहसचिव मिना नेम्बाङले सञ्चालन गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.