झापाको विर्तामोड र दमकमा निषेधाज्ञामा कडाइ गरिदैँ

दमक, १० साउन । पछिल्लो समय झापामा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि जिल्लाका पालिकाहरुले कडाइका साथ निषेधाज्ञा लागू गर्न थालेका छन् । जारी निषेधज्ञा खुकुलो भएसंगै पछिल्ला समय जिल्लामा संक्रमण ह्वात्तै बढ्न थालेपछि पालिकाहरुले अहिले कडाईका साथ निषेधज्ञा गर्न थालेका हुन् ।
कोरोना संक्रमणको जोखिम क्षेत्रमा केहि स्थानीय पालिकाले निषेधज्ञा लगाएका छन् भने केहिले भने भोलि सोमबारदेखि कडाईका साथ निषेधज्ञा गर्ने तयारी गरेका छन् ।
संक्रमणको जोखिम मानिएको बिर्तामोडमा सर्वपक्षीय बैठक आव्हान गरिएको र त्यस बैठकमार्फत निर्णय गराई बिर्तामोडमा निषेधाज्ञामा कडाई गरिने तयारी गरिएको नगरपालिकाले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई कसैले पनि नटेरेकाले नगरपालिकाले निषेधाज्ञामा कडाइ गर्न कार्यपालिकासँगै सर्वपक्षीय बैठक बोलाएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले कोरोना संक्रमण चेनब्रेक गर्न र संक्रमणको आशंका भएकाहरुको परीक्षण गराउन एक हप्तासम्म लकडाउन गर्न आबश्यक देखिएको बताए । बिर्तामोडका १८ प्रतिशतलाई संक्रमण देखिएको उनले जानकारी दिए । बिर्तामोड नगरपालिकाले कडाई गर्न खोज्दै गर्दा केहीले त्यसको विरोध गरेका छन् । लकडाउन गर्दा गुजारा गर्न गाह्रो हुने भन्दै व्यवसायीहरुले त्यसको विरोध गरेको नगर प्रमुख शिवोकोटीले बताए ।
बिर्तामोडमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको सँख्या ३ हजार ३६३ पुगेको छ । अहिले ५४९ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसेगरि दमकमा पनि शनिवार सर्वपक्षीय बैठकले सोमबार विहानदेखि एक साताका लागि निषेधज्ञा लागू गर्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । निषेधज्ञाका बारेमा आज नगरपालिकाले सार्वजनिक रुपमा सूचित गरि लागू गर्ने तयारी गरेको छ । दमकमा पछिल्ला समय संक्रमण ह्वात्तै बढ्दै गएको छ । संक्रमणका कारण दमकका कोभिड विशेष अस्पतालमा विरामी भरिभराउ भएका छन् ।

यस्तै, शनिवारदेखि कनकाई नगरपालिकामा एक साताका लागि निषेधज्ञा लागू गरिएको छ । यस्तै,बुद्धशान्ति गाउँपालिकामा पनि तीनदिन अघिदेखि निषेधज्ञा जारी छ । अर्जुनधारा नगरपालिकाको शनिश्चरे वजारमा पनि स्थानीय सरकारले निषेधज्ञा गरेको छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये हाल पाँच वटा स्थानीय तहले संक्रमणको जोखिम हेरेर निषेधज्ञा लगाएको छ ।

Leave a Reply

Your email address will not be published.