दमक ,९ साउन। दमक नगर इसाई समाजले बुधबार आयोजना गरेको खुला रक्तदानमा ८२ पिन्ट रगत संकलन भएको छ ।दमकको रेडक्रसस्थित रक्तसञ्चार सेवा केन्द्र परिसरमा आयोजित रक्तदानमा २० महिला र पुरुष ६२ जनाले रगतदान गरेको कार्यक्रम संयोजक समेत रहेका समाजका उपाध्यक्ष हेमन्त सुब्बाले जानकारी दिए । समाजको यो ४५ औं रगतदान हो ।
उनका अनुसार रक्तदानमा इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक राजकुमार नाछिरिङ राई, पूर्व अध्यक्ष पाष्टर दावा शेर्पा, दिदीबहिनी संगती दमककी अध्यक्ष रोजी शेर्पा, पत्रकार अनिलदेब राई, समाजका सचिव पाष्टर अजय पाठक, सहसचिव सुरज लिम्बू, पूर्व सचिव पाष्टर कुमार तामाङ, एल्डर पावल राई लगायत विभिन्न चर्चका युवा–युवतीहरुले रक्तदान गरेका छन् ।रगतदानमा समाजका पूर्व अध्यक्ष पाष्टर दावा शेर्पाले भने पहिलो पटक रक्तदान गरेका थिए ।
समाजले आफ्नो बार्सिक कार्यक्रम अन्तरगत रगतदान कार्यक्रम गरिआएको र सोही अनुसार रक्तदान कार्यक्रम गरिएको अध्यक्ष थुलुङले बताएका छन् । बर्सायामको समयमा रगतको अभाव हुने भएकाले त्यसलाई सहज बनाउन रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
रक्तदानमा झापा जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर अमरदीप आले मगरले बाइबल धर्मशास्त्रमा रक्तदानलाई पवित्र कार्यको रुपमा परिभाषा गरिएको भन्दै यसले हामी सबैलाई असल कर्म गर्न प्रेरित गर्ने औल्याए ।