तीन जना किशोरीले गरे सामूहिक आत्महत्या

झापा,८ साउन । झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल–५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेकी छन् ।

स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए । तीनै जना किशोरीहरू चिया बगानमा काम गर्दै आएका थिए ।

सामूहिक आत्महत्याको कारण भने नखुलेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए । तीनै किशोरले सामूहिक आत्महत्याको घटनाले गाउँ नै शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published.