दमक, ८ साउन । झापाका ११ स्थानीय तह बाढीको उच्च जोखिममा रहेको पाईएको छ । जिल्ला विपत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा उल्लेख भएअनुसार झापामका १५ मध्ये ११ पालिका बाढी जस्ता विपदको उच्च जोखिममा रहेको पाईएको छ ।
विपदको उच्च सबैभन्दा ठूूलो विपत बाढीका कारण नै सिर्जना हुने गरेको छ । थप आगलागी, जङ्गली हात्तीको आतङ्क, सडक दुर्घटना, वर्डफ्लू, खडेरी, चट्याङआदिको खतरा वा प्रकोपको जोखिममा झापा रहेको छ ।
प्राकृतिक र मानव सिर्जित जुनसुकै खालका विपतका घटनाबाट हुन सक्ने जनधनको क्षतिलाई न्यून गर्नका लागि झापा जिल्लाले २०६७ सालदेखि विपत पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी सोहीअनुसार कार्य गर्दै आएको छ ।
विपत्को दृष्टिकोणबाट झापा जिल्ला बाढीको उच्च जोखिममा रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् । विगत पाँच वर्षको विपत प्रभावित तथ्याङ्कको आधारमा यस वर्ष पनि १० हजार परिवारभन्दा बढी प्रभावित हुनसक्ने बाढी पूर्वानुमान शाखाको रहेको देखिएको उनको भनाइ छ ।
झापाका १५ वटा पालिकामध्ये ११ वटा बाढीको उच्च जोखिममा रहेको उक्त योजना तयार पार्दा देखिएको छ । दमक, शिवसताक्षी, गौरादह, कनकाई, अर्जुनधारा र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेका छन । यसैगरी कमल, गौरीगञ्ज, झापा, बाह्दशी र कचनकवल गाउँपालिका पनि बाढीको उच्च जोखिममा रहेको उल्लेख छ ।
जिल्लाका कनकाई, रतुवा, विरिङ, कमल÷बनियानी, मेची, निन्दा, हडिया, टाइटिङरनेते लगायतका खोलाहरूमा आउने बाढीका कारण जिल्लाका धेरै पालिकाहरूमा उच्च जोखिम पैदा भइरहेको छ । मेचीनगर र बिर्तामोड नगरपालिकालाई मध्यमस्तरको जोखिम रहेको पालिकाका रूपमा उल्लेख गरिएको छ । हल्दिबारी र बुद्धशान्ति गाउँपालिका भने न्यून जोखिममा रहेको पाइएको छ ।
जिल्लास्तरीय विपत पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जूमा प्रक्रियाका लागि २०७९ जेठ २५ गते सरोकारवालाबीच बैठक सम्पन्न भएर त्यसैको सुझावको आधारमा आवश्यक तयारी र योजना बनाइएको पनि उनले बताए । सबै निकायको सल्लाह र सुझावको आधारमा विपत पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको प्रजिअ रिजालको भनाइ छ ।
विपतमा परी प्रभावित हुनसक्ने तथा भएका समुदायलाई प्रभावकारी ढङ्गले समयमा नै सुसूचित गर्ने, प्रभावित समुदायलाई तत्काल राहत तथा उद्धार सेवा प्रदान गर्नु र सम्भावित क्षति हुनसक्ने अवस्थाबाट समुदायलाई जोगाउनु यस योजनाको मुख्य उद्देश्य रहेको पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार जिल्लाको विपत,सङ्कटासन्नता, क्षमताको विश्लेषण तथा खतराको वर्गीकरण, बाढी प्रतिकार्यका सिकाइ तथा अनुभव आदानप्रदान र त्यसको आधारमा योजनाको खाका तयार गर्ने, जिल्लास्तरीय विपत पूर्वतयारी तथा प्रतिकार्य योजनाको खाकामा प्रष्टता ल्याई उक्त खाकाअनुसार पालिकास्तरीय अद्यावधिक सूचना सङ्कलन गर्ने योजनालाई पूर्णता दिने काम भएको छ ।
जोखिमयुक्त गाउँपालिका र नगरपालिकामा बाढी पूर्व चेतावनीका लागि माइक, साइरन तथा साइकल एक थानका दरले उपलब्ध गराउने वा अघिल्लो वर्षको व्यवस्थालाई अध्यावधिक गर्ने कार्य पनि भएको बताइएको छ ।
पहिरोका कारण फुङ्लिङ अन्धकार
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युतको खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा (पोल ) ढालेपछि गाउँ अन्धकार भएको हो । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार अविरल वर्षाका कारण फुरुम्बुको ओठे क्षेत्रमा शुक्रबार राति करिब १२ बजेपछि पहिरो गएको थियो । उक्त पहिरोले ओठे क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको चारवटा खम्बा ढालेपछि विद्युत सेवा अवरुद्ध भएको र हाल फुरुम्बुको आधा बस्ती अन्धकारमय बनेको वडाध्यक्ष लिम्बूले जानकारी दिए ।
उनका अनुसार फुरुम्बुको साविक वडा १, २, ३ र ४ मयाम क्षेत्रका करिब तीन सय परिवार विद्युत उपभोग गर्नबाट बञ्चित भएका छन् । यस्तै सडक क्षेत्रमै पहिरोले ढालेको विद्युतको खम्बा र तारका कारण जोखिम पनि बढेको वडाध्यक्ष लिम्बूले बताए । विद्युतको खम्बा ढालेर क्षति पुगेको अवस्थाबारे शनिबार बिहानै नेपाल विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रलाई जानकारी गराएको उनले जानकारी दिए ।
यता नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले फुरुम्बुमा पहिरोले क्षति पुरयाँएको संरचनाको मर्मत–सम्भारका लागि आइतबार मात्र प्राविधिकसहितको टोली जाने जनाएको छ । जिल्लाको अन्य क्षेत्रमा पनि विद्युतको खम्बा र तारसहित प्रसारण लाइनमा क्षति पुगेकाले उक्त ठाउँहरूमा शनिबार मर्मत गरिएको वितरण केन्द्रले जानकारी दिएको छ ।